ad ad

समाज


नेपालमा कोरोनाविरुद्धको खोप १५ वर्ष माथिकालाई मात्र किन?

नेपालमा कोरोनाविरुद्धको खोप १५ वर्ष माथिकालाई मात्र किन?

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार २:४९,

कोरोना महामारीले मानव समुदाय आक्रान्त भइरहेका बेला खुसीका खबर पनि आउन थालेका छन्। अर्थात् एकपछि अर्काे देशमा धमाधम कोरोना भाइरस रोक्ने खोप लगाउन थालिएका छन्।

नेपालमा पनि कोरोनाविरुद्धको खोप सक्दो चाँडो ल्याउने प्रयास भइरहेको सरकारले जनाएको छ।

तर खोप १५ वर्षमा माथिका नागरिकलाई मात्र दिइने स्वास्थ्य अधिकारीले बताएका छन्।

किन १५ वर्ष मुनिकालाई खोप नलगाइने भएको हो? उनीहरू कोरोनाको जोखिममा नभएर हो?

नेपालखबरले यो जिज्ञासा मंगलबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे ‘रिसर्च युनिट’ का संयोजक डा. शेरबहादुर पुनसमक्ष राखेको छ।

उनको भनाइ यस्तो छ :
यसको कारणचाहिँ एकदम सिम्पल छ। त्यसभन्दा मुनिकाका लागि खोपको ट्रायल (परीक्षण) नै गरिएको छैन। यसको प्रभाव उनीहरूमाका के हुन्छ भन्ने नै थाहा छैन अहिले। विश्वभर नै युवा/वयस्कमा खोपको ट्रायल गरिएको पाइन्छ। अहिले बालबालिकालाई खोप नदिने भन्नुको कारण यही हो।

बालबालिकाका लागि खोप नै नबनाइएको त होइन। तर ट्रायल गरिएको छैन। वैज्ञानिकले अब अर्काे चरणमा चाहिँ बालबालिका र गर्भवतीका लागि पनि खोप ट्रायल गर्ने बताएका छन्। यो खोप अलि हतारमा पनि ल्याइएको हो। याे खाेप सबैलाई दिँदा के हुन्छ, कसाे हुन्छ भनेर खाेप बनाउने वैज्ञानिक नै निश्चित हुन सकेका छैनन्। यसकारण अहिले नै सबै उमेर समूहकालाई समेट्न नसकिएको हुनुपर्छ।

कतिपय खोप निर्माता कम्पनीले १४ वर्ष त कतिपयले १५ वर्ष माथिका लागि खोप लगाउने कुरा गरिरहेका छन्। हाम्रो हकमा चाहिँ सरकारले यसको मापदण्ड निर्धारण गर्नुपर्ने हुन्छ। डब्लूएचओ (विश्व स्वास्थ्य संगठन) ले पनि यो विषयमा निर्देशन जारी गर्नेछ।

अहिलेलाई बालबालिकालाई छुट्याएर खोपको ट्रायल गरिएको हो। कुनै पनि देशमा बालबालिकामा खोप परीक्षण गरिएको पाइएको छैन।

बालबालिकालाई कोरोना जोखिम नभएर हो?
हुँदैन नहुने त होइन, तर तुलनात्मक रूपमा कम देखिएको छ। कोरोनाका कारण हुने मृत्यदर तथा अस्पताल भर्ना गर्नुपर्ने हिसाबले हेर्दा बालबालिका खासै देखिँदैन्। यसैकारण पनि खोपको पहिलो प्राथमिकतामा उनीहरू नपरेको हुन सक्छ। विश्वभरिकै तथ्यांक हेर्दा कोरोना संक्रमण बढी मात्रामा युवा र वृद्ध उमेरकामा देखिन्छ। संक्रमणमा युवा बढी देखिए पनि मृत्युका हिसाबले चाहिँ वृद्ध उमेरका मानिस देखिन्छ। यसैले खोप पनि यही उमेर समूहलाई लक्ष्य गरी बनाइएको हुनुपर्छ।

खोप संक्रमितलाई कि संक्रमण नभएकालाई?
अहिलेसम्मको अध्ययनमा यो कुरा किटान गरिएको मैले पाएको छैन। सायद सीडीसी (सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, अमेरिका) को वेबसाइटमा पढेको– दुवैलाई दिने भनेर लेखेको छ। तर खोप दिने सवालमा खासै संक्रमित वा गैरसंक्रमित भनेर छुट्याएको देखिन्न। यसमा क्लियर कट’ बहस भएको देखिन्न। कुनै अनुसन्धानमा यसरी छुट्याएको पाइन्न।

सीडीसीमै कतै लेखेको- संक्रमितलाई नदिने भनिएको छैन। अहिलेसम्मका अनुसन्धानमा उमेर हद, दीर्घरोग भनेर समूह छुट्याइएका छन् तर संक्रमित र गैरसंक्रमित भनेर छुट्याएको पाइन्न। तर खोपको उद्देश्य कोरोना संक्रमण हुनै नदिने भएकाले संक्रमण नभएका व्यक्तिलाई लगाउने कुराचाहिँ निश्चित हो।

याे पनि :  पहिले कसले लगाउन पाउँछन् खोप? यस्तो छ नेपालको प्राथमिकता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .