यतिबेला शक्ति राष्ट्रहरुबीच कोभिड–१९ विरुद्धको खोप प्रि–बुकिङको होड चलेको छ। तर, नेपालले भने त्यससम्बन्धी कुनै प्रक्रिया अघि बढाएको छैन। सरकारी सुस्तीका कारण नागरिकहरुले समयमै खोप नपाउने जोखिम बढेको विज्ञहरु बताउँछन्।
हालसम्म फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका र मोर्डना कम्पनीका खोपले तेस्रो चरणको परीक्षणमा सफलता हासिल गरेका छन्। कतिपय मुलुकले आफ्नो देशमा खोपको आपतकालीन प्रयोगलाई स्वीकृति दिइसकेका छन्।
अमेरिकाको ड्युक युनिभर्सिटीले सार्वजनिक गरेको नोभेम्बर २० सम्मको तथ्यांकअनुसार एस्ट्राजेनेकाले बर्नाएको खोप १.५ अर्ब, अमेरिकी कम्पनी नोभाभ्याक्सको खोप १.२ अर्ब, रुसी कम्पनी गामालेयाको खोप (स्पुतनिक–भी) १० करोड, फाइजरको खोप ४६ करोड र मोर्डनाको खोप २२ करोड डोज बुकिङ भइसकेको छ।
यसरी खोप बुक गर्नेमा भारत सबैभन्दा अघि छ। भारतले १.६ अर्ब, युरोपेली युनियनले १.४३ अर्ब र अमेरिकाले १.०१ अर्ब डोज खोप बुकिङ गरेको छ। त्यस्तै, क्यानडाले ३५.८ करोड, बेलायतले ३५.५ करोड, जापानले २९ करोड, इन्डोनेसियाले २४ करोड र ब्राजिलले १९.६ करोड डोज खोप पाउने निश्चित गरिसकेका छन्।
पाकिस्तानले पनि एक करोड डोज खोप बुकिङको प्रक्रिया अघि बढाएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनी सरकारको ढिलासुस्तीका कारण अन्य मुलुकमा खोप आइसक्दा पनि नेपाली नागरिक भने टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आउनसक्ने बताउँछन्।
‘प्रि–बुकिङको प्रक्रिया धेरै अघि थाल्नुपर्ने हो। नेपाली प्रतिनिधिमण्डल कम्पनीमा गएर अहिलेसम्म सम्झौता गरिसक्नुपर्ने हो,’ मरासिनीले भने, ‘सरकारको काम एकदमै सुस्त भयो। नागरिकको जीवनसँग जोडिएको काममा पनि ढिलासुस्ती गर्नु बिल्कुलै हुँदैन। यस्तो प्रवृत्तिले अरु देशमा खोप लगाइरहँदा हामीले टुलुटुलु हेर्ने स्थिति आउँछ।’
मरासिनीले स्वास्थ्य तथा परराष्ट्रका प्रतिनिधिमण्डल कम्पनीमा गएर सुरुमा दश–बीस लाख डोजको पैसा दिएर बुकिङ गरेको भए पछि त्यही कम्पनीलाई थप खोपका माग्न समेत सजिलो हुने बताए।
‘फाइजर, मोर्डना निजी बहुराष्ट्रिय कम्पनी हुन्। उनीहरुसँग अहिले केही परिमाणको सम्झौता गरेको भए पछि त्यही सम्झौतामा टेकेर आवश्यकता अनुसार बढाइदेऊ भन्न पनि सकिन्थ्यो,’ मरासिनीले भने, ‘सरकारले सित्तैँमा ल्याउने कुरा गरिरहेको छ। कोभ्याक्सको सित्तैँमा पाउने खोप कुर्दा सबैले लगाइसकेपछि मात्रै नेपालमा आउने सम्भावना देखिन्छ।’
कोभ्याक्सले भने २ अर्ब खोप सुरक्षित गर्ने लक्ष्य लिएको छ। जसमध्ये एक अर्ब खोप कम र मध्यम आय भएका ९२ वटा मुलुकलाई दिइनेछ। विश्वको आधा जनसंख्या यी मुलुकमा बस्छन्। यी मुलुकले निशुल्क वा एकदमै सस्तो मूल्यमा सिमित खोप पाउने छन्। कोभ्याक्स अर्को एक अर्ब खोप भने ७५ सम्पन्न मुलुकलाई सशुल्क उपलब्ध गराउनेछ।
खोप निस्केपछि बुकिङ प्रक्रिया अघि बढ्छः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म खोप नै ननिस्किएको र निस्केपछि बुकिङ प्रक्रिया अघि बढ्ने बताएको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले खोप निस्केपछि कुन खोप उपयुक्त हुन्छ, त्यसका आधारमा बुकिङ हुने बताए।
‘अहिले जति ठाउँमा लगाइरहेका छन् ती आपतकालीन व्यवस्था गरेर लगाएको खोप हो। हामीलाई तयार भएको खोप चाहिन्छ,’ गौतमले नेपालखबरसँग भने, ‘खोप निस्केकै छैन। खोप निस्केपछि हामीलाई कुन खोप उपयुक्त हुन्छ त्यसअनुसार बुकिङ हुन्छ।’
गौतमले कति तापक्रममा राख्न सकिने हो, कति समयसम्म काम गर्ने हो, कति पैसामा पाइने हो र कति प्रभावकारी हो भन्ने कुरालाई आधार बनाएर खोप छनोट गरिने बताए।
गौतमले कोभ्याक्सबाट खोप लिने प्रक्रिया थालिसकिएको र विभिन्न मुलुकलाई कूटनीतिक पत्र पनि पठाइसकिएको जानकारी दिए।
उनका अनुसार कोभ्याक्समार्फत नेपालले ६० लाख डोज खोप पाउनेछ। त्यसबाहेक किन्नुपर्ने र त्यसका लागि ६० देखि ७० अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको उनले बताए।
‘कोभ्याक्सले २० प्रतिशत जनतालाई दिन्छ। त्यसबाहेक १२ प्रतिशत बालबालिकालाई खोप लगाउनुपर्दैन। दश प्रतिशतले खोप लगाउँदैनन्। बाँकी जनसंख्यालाई लगाउनुपर्ने हो,’ गौतमले भने, ‘त्यसका लागि आर्थिक व्यवस्थापन र पूर्वाधार निर्माणमा हामी लागेका छौं।’
नेपालमा खोप कहिले?
स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप समितिका संयोजक डा. श्यामराज उप्रेतीको अबको पाँच महिनाभित्र नेपालले कोभ्याक्स सुबिधाबाट खोप पाउन सक्ने विश्वास व्यक्त गरे।
‘अहिलेसम्म तीनवटा कम्पनीले उनीहरुले बनाएका खोप प्रभावकारी देखिएको दाबी गरेका छन्, उप्रेतीले भने, ‘उनीहरुले आफ्नो देश र डब्लूएचओबाट मान्यता पाउन केही समय लाग्छ। सम्पूर्ण प्रक्रिया सकेर नेपालसम्म २०२१ को पहिलो चौमासिकसम्म आइपुग्ने आशा गरेका छौं।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी), सेपी (द कोलिसन अफ एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स)ले संयुक्त रुपमा कोभ्याक्स सुविधा निर्माण गरेका हुन्। कोरोनाभाइरसविरुद्धको खोप निर्माणपछि त्यसमा सबै देशको समान पहुँच होस् भन्ने उद्देश्यसहित सो संयन्त्र गठन गरिएको ती संस्थाहरुले जनाएका छन्।
तर कोभ्याक्सबाहेक आफैँले किन्नुपर्ने खोप कहिले पाउने केही निश्चित छैन। बुकिङ समेत नगरेकाले मन्त्रालयले नेपालमा कहिले खोप आउँछ भन्न नसकिने जनाएको छ।
मन्त्रालयका प्रवक्ता गौतम खोप कहिले उपलब्ध हुन्छ ठ्याक्कै भन्न नसकिने बताए।
प्रतिक्रिया