ad ad

राजनीति


सीपीसीको बैठकमा सीको घोषणाः चीन गरिबी मुक्त भएर नयाँ युगमा प्रवेश गर्‍यो

सीपीसीको बैठकमा सीको घोषणाः चीन गरिबी मुक्त भएर नयाँ युगमा प्रवेश गर्‍यो

चेतनाथ आचार्य
मंसिर १९, २०७७ शुक्रबार १२:५५,

कोरोना महामारीको प्रतिकूल समयमा पनि चीनले पूर्वनिर्धारित योजना अनुसार सम्पूर्ण रुपमा गरिबी निवारण गर्न सफल भएको छ। बिहीबार सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थायी समितिको बैठकमा चिनियाँ राष्ट्रपतिले सी चिनफिङले उक्त घोषणा गरेका हुन्।

सीपीसीका महासचिवका रुपमा सीले उक्त बैठकलाई सम्बोधन गर्दै आठ वर्षसम्मको अथक प्रयासपछि पूर्वनिर्धारित समयमै चीन सम्पूर्ण रुपमा गरिबी मुक्त भएको बताए। सी चिनफिङ सीपीसीको महामासचिव भएको आठ वर्ष पुगेको छ। महासचिव हुनासाथ उनले चीनमा भ्रष्टाचार नियन्त्रण र गरिबी निवारणलाई मुख्य कार्य योजना बनाएका थिए।

सन् २०१५ अक्टोबरमा सम्पन्न सीपीसीको १८ औं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले २०२० भित्र चीनमा सम्पूर्ण रुपमा गरिबी निवारण गर्ने लक्ष्य निर्धारण गरेको थियो। अत्यन्त तीब्र रुपमा गरिबी निवारण गरिरहेको चीनले यो लक्ष्य सहजै भेट्ने कुरामा सन् २०१९ सम्म ढुक्क थियो। अन्तर्राष्ट्रिय समाजले पनि चीनको यो लक्ष्य भेट्ने कुरामा कुनै शंका गरेको थिएन।

तर चालु वर्षको सुरुमा देखिएको कोरोना महामारीले गरिबी निवारणमा चिनियाँ लक्ष्य पछि सारिने अड्कल अन्तर्राष्ट्रिय समाजले गर्दै आएको थियो। कोरोना महामारीको अत्यन्त प्रतिकूल समयमा पनि चीनले आफ्नो महत्वाकांक्षी लक्ष्य प्राप्त गर्न सफल भएको छ।

बैठकलाई सम्बोधन गर्ने क्रममा सीले समयमै गरिबी निवारण गरेर चीन नयाँ युगमा प्रवेश गरेको बताए। वर्तमान मापदण्ड अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न जनसंख्या सम्पूर्ण रुपमा गरिबी मुक्त भएका छन्। उनले यी ८ वर्षमा चीनमा दश करोड विपन्न जनसंख्यालाई गरिबी मुक्त गराएको उल्लेख गरे।

China Poverty

गत नोभेम्बर २३ तारिख क्विचौ प्रान्तले आफ्ना नौ वटा जिल्लालाई गरिबीबाट मुक्त गराएको घोषणा गरेको थियो। उक्त घोषणापछि क्विचौ प्रान्तका ६६ वटा विपन्न जिल्ला चौतर्फी रुपमा गरिबी भुक्त भएका हुन्। क्विचौ प्रान्तको गरिबी निवारणलाई चीनले सबैभन्दा ठूलो उपलब्धि मान्ने गरेको छ। किनभने जनसंख्याका हिसाबले यही प्रान्तमा सबैभन्दा धेरै मान्छे गरिबीको रेखामुनि रहेका थिए। क्विचौको उपलब्धिपछि चीनका ८३२ वटा गरिब जिल्ला चौतर्फी रुपमा गरिबीबाट मुक्त भएका छन्।

बैठकमा सीले सन् २०२० लाई असामान्य वर्ष भन्दै चीनले समयमै गरिबी मुक्त जिम्मेवारी पूरा गरी चीन सरकार र सीपीसीका दृढ संकल्प अभिव्यक्त गरेको बताए। चीनले यस कार्यले विश्वको गरिबी निवारणमा समेत प्रभावकारी योगदान दिएको मानिन्छ।

अमेरिकासँगको व्यापार युद्धपछि चीन निकै ठूलो दबाबमा थियो। त्यसमाथि कोरोना महामारीले सन् २०२० विश्वका लागि गंजागोल वर्ष हुन गयो। कोरोना महामारीबाट पुगेको ठूलो प्रभावले चिनियाँ अर्थतन्त्रलाई पनि चालु वर्षको पहिलो दुई त्रैमासिक अवधिमा निकै अप्ठ्यारो बनाएको थियो। अहिले विविध कठिनाइलाई जितेर समयमै सम्पूर्ण गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गराएको कुरा चीनका लागि मात्र होइन विश्व समाजका लागि पनि महत्वपूर्ण मानिएको छ।

चीनको यो उपलब्धिलाई सबैले मुक्त कण्ठले प्रशंसा गरेका छन्। सधैँ चीनको धुवाँधार आलोचना गर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि गरिबी निवारणमा चीनले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै भनेका छन्, ‘कुनै पनि देशले चीन जस्तै यति ठूलो संख्याका नागरिकलाई गरिबीबाट मुक्त गर्न सक्दैनन्।’

चीनले सुधार र खुलापन नीतिबाट अवलम्बन गरेको चालीस वर्ष पार गरेको छ। यो चार दसकमा ८० करोड भन्दा नागरिकलाई गरिबीबाट मुक्त गराउँदै विश्वमा गरिबी निवारणमा चीनले मात्र ७० प्रतिशत भन्दा बढी योगदान पुर्‍याएको छ। सम्पूर्ण रुपमा गरिबी मुक्त भएर चीनले संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासको लक्ष्य २०३० लाई दस वर्ष अगाडि नै पूरा गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .