ad ad

समाज


शरीरमा सुगरको मात्रा नियमित नभएपछि ओली सिंगापुर ‘रिफर’

शरीरमा सुगरको मात्रा नियमित नभएपछि ओली सिंगापुर ‘रिफर’

मणि दाहाल
साउन १४, २०७६ मंगलबार १६:१६,

सोमबार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जाने जानकारी दिएपछि उनको स्वास्थ्य अवस्थाबारे एकाएक चासो बढेको छ।

समयतालिका परिवर्तन भएन भने शनिबार प्रधानमन्त्री ओली एक साताका लागि सिंगापुर जानेछन्, जहाँ उनले आराम गर्नुका साथै स्वास्थ्य परिक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ।

पार्टी तथा सरकारका गतिविधिमा सक्रियता बढाएसँगै ओलीलाई उनका सल्लाहकार तथा सचिवालयका सदस्यहरुले आराम गराउन एक साता थाइल्यान्ड लैजाने तयारी गरेका थिए।

ओलीका निजी चिकित्सक डा दिव्या सिंहले चाहिँ आरामका साथै स्वास्थ्य परीक्षण पनि हुने भएकाले सिंगापुर लैजान सुझाएकी थिइन्।

प्रधानमन्त्री ओली शनिबार गंगालाल हृदय रोग केन्द्रको एउटा कार्यक्रममा सहभागी भएका थिए, जहाँ उनले ४५ मिनेट भाषण गरे। त्यहाँ उनले ‘आफू नक्कली बिरामी नभएको’ दाबी पनि गरेका थिए।

स्वास्थ्यको कारण देखाउँदै आइतबार वीर अस्पतालको १ सय ३० औं वार्षिकोत्सवको कार्यक्रममा ओली सहभागी भएनन्। तर त्यसैदिन नेपाल भारत लजिस्टिक सम्मेलनमा प्रमुख अतिथि बनेका ओलीले बसीबसी सम्बोधन गरेका थिए।

त्यसै साँझ छाउनीस्थित सैनिक अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो, जसको दुई वटा रिपोर्ट अझै आउन भने बाँकी छ। नेपालमा नभएको उपचार सिंगापुरमा हुने स्रोतहरुले बताएका छन्।

‘पिसावमा प्रोटिन चुहिएको छ, तर मृगौला प्रत्यारोपण गरेको मानिसमा यस्तो देखिनु सामान्य हो’, ओलीको स्वास्थ्य परिक्षण टोलीका एक जना डक्टर भन्छन्, ‘केही समयअघि मात्रै शिक्षण अस्पतालमा ओलीको मुटुको इसिजी गरिएको थियो, जुन सामान्य थियो।’ 

‘शरीरमा सुगरको मात्रा नियमित नहुँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका लागि सिंगापुर रिफर गरिएको हो’, ती डक्टरले भने।

निजी चिकित्सक डा. दिब्या सिंहले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्। ‘धपेडी र दैनिकी नियमित नभएको कारण शरीरमा सुगरको मात्रा एकरुप नहुने समस्या देखिएको छ।’

एक साता सिंगापुर बसाईको क्रममा प्रधानमन्त्री ओलीको शरीरले आराम पनि पाउने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

१२ वर्षअघि दिल्लीमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ। भारत, थाइल्यान्ड तथा सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ।

२०७० फागुन १८ देखि २०७१ बैशाख ३ गतेसम्म ओलीले करिब डेढ महिना दिल्लीमा बसेर उपचार गराएका थिए। दिल्लीमा केही समय अस्पताल र केही समय बाहिर आराम गरेका ओलीलाई ब्याक्टेरियाले दुःख दिएको बताइएको थियो। उनलाई छालामा कुन ब्याक्टेरियाले संक्रमण गरेको हो भन्ने पत्ता लगाउन लामो समय लागेको थियो। त्यसपछि नेपाल फर्केको दुई सातामै ओलीलाई फेरि थाइल्यान्ड लैजानु परेको थियो।

म्यानेन्जाइटिस भएको पत्ता लगेपछि ओलीलाई उपचारका लागि बैशाख १७ मा थाइल्यान्ड लगिएको थियो। एक महिनाभन्दा बढी समय बैंककमा बसेर ओली स्वदेश फर्केका थिए।

मृगौला प्रत्यारोपण गरेपछि रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर रहेको ओलीलाई अस्पतालमा भेट्न आउने नेता तथा शुभचिन्तकबाट संक्रमण हुने खतरा देखेपछि बैंकक लगिएको थियो। नेपाल फर्केपछि एमालेको नवौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका ओलीलाई एक सातापछि हातमा देखिएको संक्रमको उपचारका गर्न बैंकक लगिएको थियो।

मृगौला प्रत्यरोपणपछि ओलीलाई बेलाबेलामा संक्रमण हुँदै आएको छ। नियमित रुपमा औषधि सेवन गर्दा संक्रमणको डर हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .