नेपालले अबको पाँच महिनाभित्र कोभ्याक्स फेसिलिटीबाट कोरोना भाइरसविरुद्धको खोप प्राप्त गर्ने विश्वास गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२१ को पहिलो चौमासिक अर्थात् अबको पाँच महिनाभित्र कोभ्याक्स फेसिलिटी नामक अन्तर्राष्ट्रिय संयन्त्रमार्फत् सो खोप पाउने अपेक्षा गरेको हो। सरकारले सोहि योजना अनुरुप तयारी समेत अघि बढाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी), सेपी (द कोलिसन अफ इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स)ले संयुक्त रुपमा कोभ्याक्स फेसिलिटी निर्माण गरेका हुन। कोरोनाभाइरसविरुद्धको खोप निर्माणपछि त्यसमा सबै देशकाे समान पहुँच हाेस् भन्ने उद्देश्यसहित साे संयन्त्र गठन गरिएकाे ती संस्थाहरुले जनाएका छन्।
हाल कोभ्याक्समा नेपालसहित १ सय ७२ देश आवद्ध छन। आफूसँग आवद्ध भएका देशलाई त्यहाँका कम्तीमा २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप उपलब्ध गराउने कोभ्याक्सले प्रतिबद्धता गरेको छ।
स्वास्थ्य मन्त्रालयले खोपविज्ञ डा. श्यामराज उप्रेतीको नेतृत्वमा एक समिति गठन गर्दै कोभ्याक्सबाट खोप प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाएको हो।
कोभ्याक्सले डिसेम्बर ७ सम्म नेपाललाई खोप आपुर्तिका लागि आवश्यक सम्पूर्ण विवरणसहितको आवेदन प्रस्ताव माग गरेको छ।
‘उनीहरुले उपलब्ध गराउने भनेको २० प्रतिशत जनसंख्या कति हुन्छ? त्यसमा को को हुन्छन? भण्डारण गर्ने क्षमता के छ? भ्याक्सिन आयो भने नेपालमा प्रयोग गर्ने कानुनी अवस्था कस्तो छ? ती कुरा आवेदनमा खुलाएर पठाउँनुपर्छ। हामीले यसको अन्तिम तयारी सकिसकेका छौं। डिसेम्बर ७ को डेडलाइनअघि नै बुझाउँछौ,’ उप्रेतीले नेपालखबरसँग भने।
कोभ्याक्स फेसिलिटीले अहिलेसम्म अक्सफोर्ड, सेनोफी र सेरम इन्स्टिच्युटसँग खोपको सम्झौता गरिसकेको छ। उक्त खोप उपलब्ध हुनेबित्तिकै पहिलो खेपमा नेपालले पाउनुपर्ने दाबी आफूले आवेदनमार्फत् गरेको उप्रेतीले बताए।
‘अहिलेसम्म तीनवटा कम्पनीले उनीहरुले बनाएका खोप प्रभावकारी देखिएको दाबी गरेका छन,’ पूर्व बालस्वास्थ्य महाशाखा निर्देशक समेत रहेका उप्रेतीले भने, ‘उनीहरुले आफ्नो देश र डब्लूएचओबाट मान्यता पाउँन केही समय लाग्छ। सम्पूर्ण प्रक्रिया सकेर नेपालसम्म २०२१ को पहिलो चौमासिकसम्म आइपुग्ने आशा गरेका छौं।’
अहिलेसम्म खोप निर्माण सुरु गरेको घोषणा गर्ने कम्पनीमा फाइजर र मोडेर्ना रहेका छन्। यी खोपलाई माइनस २० देखि ७० डिग्री तापक्रममा राख्नुपर्छ। यस्तै अक्सफोर्डले निर्माण गरेको खोप चाँही २ देखि ८ डिग्री तापक्रममा राख्न सकिने जनाएको छ।
नेपालले कोभ्याक्सलाई पठाउन लागेको आवेदनमा माइनस २ देखि २० डिग्री तापक्रममा राख्न मिल्ने खोपलाई प्राथमिकता दिएको छ। डा. उप्रेतीका अनुसार माइनस २ देखि २० डिग्री तापक्रममा राख्ने खोप उपलब्ध भए नेपालले अहिलेकै पूर्वाधारले धान्छ।
माइनस २० डिग्री तापक्रममा राख्नुपर्ने खोपका लागि पूर्बाधारलाई सुदृढीकरण गर्नुपर्ने हुन्छ। तर माइनस ७० डिग्रीमा राख्नुपर्ने खोपका लागि नेपालसँग पूर्वाधार नभएको कुरा आवेदनमा समेटिएको उनले बताए।
यस्तै कोभ्याक्सले खोप नेपालमा आएपछि यससम्बन्धी कानुनी व्यवस्था बारेपनि सोधेको डा.उप्रेतीले बताए। छिटो खोप प्रयोगका लागि केही हप्ताअघि राष्ट्रपतिबाट अध्यादेश नै जारी भएकाले कानुनी जटिलता नरहेको उनले बताए।
कोभ्याक्सलाई बुझाउन लागिएको आवेदनमा नेपालले २० प्रतिशतमा ६० लाख जनसंख्या पर्ने जनाएको छ। त्यसमा पहिलो प्राथमिकता स्वास्थ्यकर्मी, केही सुरक्षाकर्मी, ५५ वर्षमाथिका जेष्ठ नागरिक र ४४ देखि ५५ वर्षका दीर्घरोगीलाई प्राथमिकता दिइनेछ भनी उल्लेख गरिएको उप्रेतीले जनाए।
कोभ्याक्सले उपलब्ध गराउने खोपको मुल्य १.६ देखि २ डलरसम्म रहनेछ। तर नेपालजस्ता गरिब देशहरुलाई निशुल्क उपलब्ध गराउनेबारे पनि छलफल भइरहेको उनले जनाए।
बाँकीलाई कहिले खोप?
नेपालले १५ वर्षमुनिका २८ प्रतिशत बालबालिकालाई छाडेर ७२ प्रतिशत नागरिकलाई खोप दिनुपर्ने आकँलन गरेको छ। कोभ्याक्सले प्रतिबद्धताभन्दा बढी खोप उत्पादन भए आवद्ध देशहरुलाई थप खोप दिने पनि जनाएको छ।
त्यसबाहेक भने आवश्यक परिणाम उत्पादन कम्पनीसँग किन्नुपर्ने हुन्छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खोप उत्पादन हुने बित्तिकै नेपालले किन्ने प्रक्रिया सुरु गर्ने जनाएका छन। विश्व प्रति—जैविक सचेतना सप्ताहका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै नेपालमा पनि खोप भित्र्याउने तयारी भएको उनको भनाइ छ।
‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रुपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ। अब कानुनी बाटो खुला भएको छ,’ मन्त्री ढकालले भने, ‘अन्य देशले आफ्ना नागरिकमा भ्याक्सिन प्रयोग गर्नेवित्तिकै नेपालमा पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल भइराखेको छ।’
यस्तै सरकारले यहि प्रक्रियालाई सहज बनाउनका लागि कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट समेत पठाइसकिएको मन्त्री ढकालले जानकारी दिए।
Shares
प्रतिक्रिया