ad ad

समाज


निकुञ्जकोे नियन्त्रणबाट भागेका ३१ जनाको खोजी जारी, १३ डुंगा नष्ट

निकुञ्जकोे नियन्त्रणबाट भागेका ३१ जनाको खोजी जारी, १३ डुंगा नष्ट

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ८:४४,

चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ। निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका थिए।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए। उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिए।

घटनाअनुसार शनिबार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो। उनीहरुले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शंकास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको उनले बताए।

अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक सोधपुछसमेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ।

गैरकानूनी रुपमा माछा मार्न मात्र नभएर चोर–शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशंका गरिएका १३ डुंगा नष्ट गरिएको सूचना अधिकारी अधिकारीले बताए।

पक्राउ परेर भागेकामध्ये दुई जना मध्यविन्दु नगरपालिका–३ का र अन्य २९ जना कावासोती नगरपालिका–१५ का बोटे, माझी र मुसहर छन्। तिनलाई यथाशक्य चाँडो खोजी गरी पुनःकानूनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

सोही क्षेत्रमा केही समय अगाडि चोर–शिकारीले दुर्लभ एकसिँगे गैँडा मारेका थिए। पछिल्लो समय गैँडा मारिने क्रम बढेको छ। चालु आर्थिक वर्ष शुरु भएयता चार गैँडा चोर–शिकारीबाट मारिएको अवस्थामा भेटिएका छन्। निकुञ्जले चोरीशिकार र प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि समिति बनाएर अनुसन्धान गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .