नेवार समुदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिएको छ।
रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला हुने भएको हो। दिदीबहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ।
त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ। यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो। मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन्।
नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ।
हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ५ वर्षसम्म पुननिर्माणका कारण बन्द रहेको थियो। तर अहिले पुननिर्माण सम्पन्न भएपछि तिहारमा टीका लागउन सर्वसाधारणका लागि खुल्ला गरिएको हो।
५ वर्षपछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणहरु खुशी देखिएका छन्।
यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था पनि गरिएको छ।
प्रतिक्रिया