ad ad

समाज


धार्मिक घृणा सम्बन्धि विवादपछि फेसबुकको भारत नीति हेर्ने प्रमुखद्वारा राजीनामा, के थियो विवाद?

धार्मिक घृणा सम्बन्धि विवादपछि फेसबुकको भारत नीति हेर्ने प्रमुखद्वारा राजीनामा, के थियो विवाद?

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ०:७,

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्।

घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा फेसबुक मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो।

अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो। फेसबुकले ती आरोपहरू अस्वीकार गरेको छ र कुनै पार्टीको समर्थक नरहेको दाबी गरेको छ।

तर यो विवादले सबैभन्दा ठूलो बजारमा उक्त सामाजिक सञ्जाललाई नाजुक अवस्थामा पुर्‍याइदियो। पछि भारतका लागि फेसबुकका व्यापार प्रमुख अजित मोहन त्यहाँको एउटा संसदीय समितिको केरकारमा परे।

जनसेवामा आफ्नो रुचिलाई अगाडि बढाउन फेसबुकको जिम्मेवारीबाट अङ्खी दासले राजीनामा दिएको मङ्गलवार एउटा वक्तव्य जारी गर्दै मोहनले बताएका छन्। बिबिसीबाट

अङ्खी दास भारतमा फेसबुकका लागि काम गर्ने शुरूवाती चरणकी एक कर्मचारी भएको, कम्पनीको प्रगतिमा उनले सक्रिय भूमिका निर्वाह गरेको र ठूलो योगदान पुर्‍याएको मोहनले उल्लेख गरेका छन्।

गत अगस्ट महिनामा भारतीय जनता पार्टीका एक सांसदले पोस्ट गरेका मुस्लिमविरोधी सामग्रीहरूबारे द वाल स्ट्रीट जर्नलले प्रश्न गरेपछि बल्ल फेसबुकले त्यसलाई हटाएको थियो।

त्यो प्रकरणलाई लिएर अङ्खी दास सञ्चारमाध्यममा चर्चामा आएकी थिइन्। उनी त्यो विवादको केन्द्रमा थिइन् किनकि मुस्लिमविरोधी ती सामग्री हटाउन अस्वीकार गरेको उनीमाथि आरोप लागेको थियो।

द वाल स्ट्रीट जर्नलका अनुसार उनले कर्मचारीहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरूलाई नीति उल्लङ्घनका घटनामा दण्डित गर्दा त्यसले भारतमा फेसबुकको व्यापार परिदृश्यमा क्षति पुर्‍याउने बताएकी थिइन्।

बीजेपीका कम्तीमा अरू तीनजना समर्थकले पनि सोही प्रकृतिका पोस्टहरू गरेको र त्यसबाट फेसबुकको नीति उल्लङ्घन भएको देखिँदा समेत त्यसलाई नहटाइएको सो पत्रिकाले जनाएको छ।

त्यसपछि द वाल स्ट्रीट जर्नलले आफ्नो दोस्रो रिपोर्टमा पनि अङ्खी दासको भूमिकाबारे प्रश्न उठायो जसमा उनले बीजेपी र मोदीलाई समर्थन गरेको तथा आन्तरिक सन्देशमा विपक्षी दलहरूलाई तल देखाएको आरोप लगाइएको थियो।

तीस करोडभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुक भारतमा निकै लोकप्रिय छ। भारतमा फेसबुककै अर्को मञ्च ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .