ad ad

समाज


भारतभर संक्रमण दर घट्दा बिहारको चुनाव र चाडबाडका कारण नेपालमा भने जोखिम झनै बढ्दो

भारतभर संक्रमण दर घट्दा बिहारको चुनाव र चाडबाडका कारण नेपालमा भने जोखिम झनै बढ्दो

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ९:२,

समग्र भारतमा कोरोना संक्रमणको दर दैनिक रुपमा घट्दै गएपनि नेपालसँग सीमा जोडिएकाे भारतीय राज्य बिहारमा भने जारी चुनावका कारण महामारी झन बढ्न सक्ने जाेखिम देखिएको छ।

बिहार राज्यसँग नेपालका १३ वटा जिल्लाको सीमा प्रत्यक्ष जोडिएको छ। तराई क्षेत्रमा असारको अन्तिमबाट सुरु भएको दोस्रो चरणको कोरोना महामारीको प्रमुख कारण सीमा वारपार गर्नेहरु भएको बताइन्छ।

नेपाल सरकारले कात्तिक मसान्तसम्म १० वटा नाकाबाट मात्रै आवात जावत गर्न दिने भनिए पनि सीमा क्षेत्रबाट दुवैतर्फ आउजाउ गर्ने क्रम भने रोकिने गरेको छैन

‘बिहारमा कोरोना संक्रमितको संख्या बढ्दा त्यसले सबैभन्दा पहिले तराईका जिल्ला र त्यसपछि क्रमशः नेपालभर नै महामारी फैलिन सघाउ पुर्याउँछ,’ स्वास्थ्य मन्त्रालयमा कोरोना उपचारबारे समन्वय गर्दै आएका डा. मदन उपाध्यायले भने, ‘औपचारिक नाकाहरुमा सेना तथा प्रहरी लगाएर कडाई गरेपनि नेपाल भारतबीच आवात जावात गर्ने धेरै अनौपचारिक नाकाहरु छन्। त्यसैले गर्दा आवात जावत रोकिने गरेको छैन।’

तराई क्षेत्रमा कोरोना महामारी फैलिदा डा. उपाध्याय वीरगञ्जस्थित प्रादेशिक अस्पतालका प्रमुख थिए।

डा. उपाध्यायले सीमा क्षेत्रको बजारमा बस्नेहरुले कोरोनाको नयाँ चरण सुरु नहोस् भनेर थप सतर्कता अपनाउनुपर्ने बताए।

‘तर जनकपुर वा वीरगञ्जको बजारमा अहिले पनि सुरक्षा सतर्कता अपनाएको देखिदैन,’ डा. उपाध्यायले भने।

सीमा क्षेत्रमा रहेका नेपाल र भारत दुवैतर्फका वासिन्दाहरु नियमित किनमेल तथा सामान्य कामका लागि पनि सीमा वारपार गर्ने र त्यसमा निर्भर रहने गरेका छन्। त्यसैले सीमा नियन्त्रण गर्ने भनी सरकारले गर्ने निर्णय समेत पूर्ण प्रभावकारी हुँदैनन्।

डा. उपाध्यायले कोरोनाको हटस्पटहरुबाट दसैँमा घर जानेहरु र बिहार राज्यमा चुनावमा देखिएको लापरवाही नेपालमा कोरोना महामारी नियन्त्रणमा पछिल्ला प्रमुख चुनौति भएको बताए।

‘७७ जिल्लाका मानिसहरु दसैँमा घर गएका छन्। यसले तिहारको समयसम्म गाउँगाउँमा ‘कोरोना विस्फोट’ हुनसक्छ,’ डा. उपाध्यायको अनुमान छ।

भारतमा बुधबारसम्म संक्रमित हुनेको संख्या ७२ लाख पुगेको छ भने १ लाख १९ हजार संक्रमितको मृत्यु भइसकेको छ।

त्यसैगरी बिहारमा मात्र २ लाख संक्रमित भएका छन् भने १ हजार ५८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिले करिब १० हजार सक्रिय संक्रमित छन्।

वीरगञ्जका सक्रिय पत्रकार तथा लेखक चन्द्रकिशोरले दसैँमा काठमाडौंबाट ठूलाे संख्यामा बाहिरिएका मानिस र बिहार राज्यमा चुनावी अभियानमा देखिएको लापरवाहीले चुनौति बढाएको बताउँछन्।

‘अहिले सरकारले सीमा बन्द गरेको छ तर त्यसले आवात जावात ठप्प पार्न सक्दैन। अहिले पनि चोरबाटोबाट मानिसहरु ओहोरदोहोर गरिरहेका छन्। तस्करी पनि चलेकै छ। अति आवश्यक भएको मानिस पनि ओहोरदोहोर गरिरहेका छन्,’ चन्द्रकिशोरले भने, ‘बिहारलाई मात्रै दोष लगाएर सरकार पन्छिन सक्ने अवस्था छैन। सीमाहरु बन्द हुँदा दुवैतर्फका मानिसहरुले चोरबाटो प्रयोग गरिरहेका छन्। त्यसले झनै जोखिम बढाएको छ।’

सीमालाई खुला गरिदिने र नेपाल भारतबीच ओहोरदोहोर गर्नेहरुको पूर्ण जानकारी राखेर व्यवस्थित गर्नुपर्ने उनकाे सुझाव छ।

बिहार सरकारले दैनिक १ लाख ५० हजारकाे काेराेना परीक्षण गरेको र पछिल्लो केही सातादेखि संक्रमितको दर घट्दै गएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

तर विज्ञहरुले भने बिहारमा भएको अधिकांश परीक्षण ३० मिनेटमै नतिजा दिने र्‍यापिड एन्टीजेन टेस्ट भएको बताएका छन्। यस्तो परीक्षणले सही सूचना दिने परिणाम ३० प्रतिशत भन्दा कम हुन्छ।

कोरोना महामारी नसिकदै बिहारमा चुनाव हुन लागेका कारण त्रास बढेकाे छ। कोरोना नियन्त्रणका लागि त्यहाँको निर्वाचन आयोगले विभिन्न मापदण्डहरु तय गरेपनि त्यसको कार्यान्वयन नभएको भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

राजनीतिक दलहरुले नियमित रुपमा ठूला आमसभाहरु आयोजना गर्ने गरेका छन्। जसमा सहभागीले भौतिक दूरी कायम गरेको र मास्क लगाएको देखिँदैन।

विज्ञहरुले बिहारमा देखिएको चुनावी प्रवृत्तिले गम्भीर परिणाम ल्याउने चेतावनी दिएका छन्। करिब साढे १० करोड जनसंख्या रहेको बिहार जनसंख्याको हिसाबले भारतको तेस्रो ठूलो राज्य हो।

बिहारको २ सय ४३ सदस्यीय विधानसभाको लागि तीन चरणमा चुनाव हुँदैछ।

पहिलो चरणमा ७१ स्थानका लागि शुक्रबार मतदान हुँदैछ। त्यसपछि एक साताको अन्तरमा क्रमशः दोस्रो र तेस्रो चरणका लागि ९४ र ७८ स्थानका लागि मतदान हुने छ। निर्वाचन परिणाम नोभेम्बर १० का दिन सार्वजनिक गरिनेछ। निर्वाचन नतिजापछि पनि उत्तिकै ठूला विजय र्‍याली निकाल्ने चलन छ।

यो निर्वाचनमा हालका मुख्यमन्त्री नीतिश कुमार र विपक्षी दलका नेता तेजश्वी यादवको गठबन्धनबीच कडा टक्कर हुने अनुमान गरिएको छ।

कुमारको गठबन्धनमा केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी, जनता दल युनाइटेड र केही साना दल छन् भने यादवको गठबन्धनमा राष्ट्रिय जनता दल, कांग्रेस र बामपन्थी दल रहेका छन्।

याे पनि: 
कोरोना भाइरस : भारतमा दैनिक संक्रमण दर निकै घट्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .