आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुर तामाङलाई पक्राउ गरेको हो।
गत वैशाख २१ गते पोखरा–२० स्थित जङ्गल छेउमा रहेको पालमा तामाङको शव फेला परेको थियो। घटनामा इन्द्रबहादुरको संलग्नता देखिएपछि प्रहरीले मृतकका भतिजाको खोजी गरेको थियो।
खोजतलासको क्रममा लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसलमा फेला पारेर उनलाई पक्राउ गरी पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
घटनापछि मृतकको छोराले तामाङविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रत्यक्षदर्शीका अनुसार गत वैशाख २० गते राति मदिरा सेवन गरेपछि दुई जनाबीच झैझगडा शुरु भएको थियो। सोही क्रममा इन्द्रबहादुरले टङ्कबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
आरोपी तामाङले प्रारम्भिक सोधपुछमा हत्या गथरेको स्वीकार गरेका प्रहरीको भनाई छ। उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रनाउ हमालले जानकारी दिए।
प्रतिक्रिया