ad ad

समाज


भैरहवाका मुख्य चोकमा ट्राफिक डमी

भैरहवाका मुख्य चोकमा ट्राफिक डमी

प्रकाश न्यौपाने
असोज २९, २०७७ बिहिबार ८:५६,

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रका मुख्य चोकहरुमा काल्पनिक ट्राफिक प्रहरी (डमी) राखेको छ।

बिहीबार भैरहवा क्षेत्रको अति व्यस्त चोकहरु बर्मेलीटोल, देवकोटाचोक र मिलन चोकमा ट्राफिक डमी राखिएको हो। पैदलयात्रु र सवारी साधनलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्रा क्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मुख्यचोकहरुमा डमी राखिएको ट्राफिक प्रहरीले जनाएको छ।

टाढाबाट झट्ट हेर्दा डमी ट्राफिक प्रहरी जस्तै देखिने भएकाले पनि सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने र नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले जानकारी दिए।

उनले भने, ‘जनशक्ति कम हुँदा सबै ठाउँ ट्राफिक प्रहरीले ड्यूटी गर्न नभ्याउन सक्छ। यस्तोबेला सडकमा राखिएको डमीले प्रदलयात्रु र सवारीसाधन चालकलाई नियम पालना गराउन मद्दत पुग्ने हाम्रो विश्वास छ।’

दुरुस्तै ट्राफिक प्रहरी जस्तै गरी युनिफर्म, डाइ, ट्राफिक टोपी लगाएर बनाइएको डमीमा कोभिड–१९ सचेतनाका लागि मास्क पनि लगादिइएको छ। डमीमा बनाइएका दुईहातमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सन्देश लेखिएको बोर्ड राखिएको छ।

बोर्डमा आफू सुरक्षित भएको महसुस भएपछि मात्र लेन परिवर्तन गरौं, जेब्राक्रस, स्कूल, घुमाउरो बाटो नजिकबाट ओभरटेक नगरौं, ढिलो हिँड्ने सवारीसाधन जहिले पनि बायाँ लेनबाट चलाऔं, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगरौं, सडक पार गर्दा रोक, हेर र जाउ भन्ने सिद्धान्त प्रयोग गरौं, ओभरटेक गर्दा सधैँ दाहिनेबाट गरौँ भन्ने जस्ता सचेतनामूलक सन्देश लेखिएको छ।

डमीमा तत्काल सन्देशमूलक बोर्ड राखिए पनि केही समयपछि ट्राफिक नियम उल्लंघन गरे हुने जरिवानासम्बन्धि रकम पनि लेखिने जनाइएको छ।

ट्राफिक डमी र त्यसमा बोर्ड राखिएपछि सवारी चलाक, यात्रु सबैमा लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने र नागरिकले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास आफूहरुले लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसीले बताए। हाललाई ५ ठाउँमा ट्राफिक प्रहरी डमी राखिने र यसको प्रभावकारिता हेरेर जिल्लाभर डमी राख्ने कामलाई विस्तार गरिने जिसीले जनाए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख विकले पनि भैरहवा क्षेत्रमा डमी प्रभावकारी हुँदै गएमा प्रदेशभरी यसलाई विस्तार गरिने जानकारी दिए।

यसअघि काठमाडौंमा ट्राफिक प्रहरीले डमी राखेको थियो। काठमाडौंको विभिन्न स्थानमा राखिएको डमी निकै प्रभावकारी भएको बताइन्छ।

ट्राफिक डमी राख्ने कार्यक्रममा रुपन्देही प्रहरी प्रमखु एसपी प्रवीण पोखरेल, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .