नेपाल पत्रकार महासंघले सिन्धुपाल्चोकमा निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित स्थानीयको बारेमा समाचार संकलनका लागि पुगेका ३ जना पत्रकारमाथि एक अराजक समुहले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ।
महासंघका अनुसार भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईलाई २०७७ असोज २७ गते दुर्व्यवहार र हातपात गर्दै पत्रकारको सवारी साधानमा समेत तोडफोडको प्रयास गरेका थिए।
‘नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको महासंघको ठहर छ’ बिहीबार विज्ञप्ति प्रकाशित गरी महासघले भनेको छ, ‘महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पु-याउने यस्ता घटनाको कडा भत्र्सना गर्दछ।’
साथै घटनामा संलग्न समूहको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा निर्वाध र निर्भीक रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातारण निर्माण गर्न पनि महासंघले सरकारसँग माग गरेको छ।
प्रतिक्रिया