धादिङमा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
नेत्रावती डब्जोङ गाउँपालिका५ स्थित बेतिनीमा लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४० वर्षीय बेगबहादु तामाङ र ५८ वर्षीय दलबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।
ट्रक सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक तामाङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यसैगरी धादिङको गल्छी गाउँपालिका८ स्थित गोगनपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
कच्ची सडकबाट बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको हो।
मोटरसाइकल चालक भने घाइते भएका छन् । दुबै दुर्घटनामा घाइते हुनेहरुको ट्रमा सेन्टर, काठमाडौंमा उपचार भइरहेको छ। रासस
–––
प्रतिक्रिया