ad ad

समाज


मौसमविद् भन्छन् : नयाँ ‘सिस्टम’ सक्रिय भएन भने अबको तीन-चार दिनमा मनसुन सकिन्छ

मौसमविद् भन्छन् : नयाँ ‘सिस्टम’ सक्रिय भएन भने अबको तीन-चार दिनमा मनसुन सकिन्छ

नेपालखबर
असोज २०, २०७७ मंगलबार २:२५,

विकास हुँदै गरेको एक नयाँ मौसमी प्रणाली सक्रिय भएन भने अबको तीन/चार दिनमा नेपालमा औपचारिक रूपमा मनसुन अन्त्य हुने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार नेपालमा मनसुनी गतिविधि जारी राख्ने बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव त भोलि (बुधबार) बाट हट्ने सम्भावना छ, तर फेरि अर्काे नयाँ सिस्टम (न्यून चापीय क्षेत्र) विकास भइरहेको हाे।

‘त्यो त्यति बलियो त देखिएको छैन,’ मौसमविद् बासीले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘यसले असर पारेन भने अबको तीन/चार दिनभित्रमा नेपालबाट मनसुन पूरै बाहिरिने सम्भावना छ।’

मौसमविद्का अनुसार नेपालको पश्चिमी क्षेत्र अर्थात् सुदूरपश्चिम प्रदेशदेखि ५ नम्बर प्रदेशको आधा भाग (पश्चिमतर्फ) बाट गत बिहीबारदेखि नै मनसुन बाहिरिसकेको छ। तर त्यसयता पूर्व प्रदेश १ सम्म मनसुनको प्रभाव अझै छ।

जसले गर्दा यी क्षेत्रमा मौसम बदली तथा हल्का वर्षा हुने क्रम जारी छ।

सामान्य मितिबमोजिम नेपालबाट मनसुन गत सेप्टेम्बर २७ मै बाहिरिइसक्नुपर्ने हो। तर भनेकै मितिमा बाहिरिँदैन। केही दिन तलमाथि पर्छ। 

मौसमविद्का अनुसार केही वर्षयता मनसुनको अवधि लम्बिएको छ। यस वर्ष त झन् मनसुन बाहिरिने भनिएको मिति सेप्टेम्बर २७ आसपास चार पाँच दिन देशभर ठूलो वर्षा भएको थियो।

औपचारिक रूपमा मनसुन सकिएपछि प्रि-विन्टर सुरु हुन्छ। मौसमविद् बासीका अनुसार अक्टोबर र नोभेम्बरलाई प्रि-विन्टरको अवधि मानिन्छ। तर अक्टोबर आज ६ तारिख भइसक्दा पनि मनसुन बाहिरिसकेको छैन। डिसेम्बरबाट भने विन्टर अर्थात् हिउँदयाम सुरु हुने उनले बताइन्। 

यस्तो छ मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम अनुमान :

असोज २० गते (मंगलबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का  वर्षाको सम्भावना छ।

असोज २१ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २२ गते (बिहीबार)

दिउँसो :  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का  वर्षाको सम्भावना छ।

राती :  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .