ad ad

समाज


दसैँ मान्न घर फर्कन थाले परदेशी, छैन स्वास्थ्य मापदण्डको पालना

दसैँ मान्न घर फर्कन थाले परदेशी, छैन स्वास्थ्य मापदण्डको पालना

प्रकाश न्यौपाने
असोज १६, २०७७ शुक्रबार ९:३०,

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु दसैँ मनाउन घर फर्कन थालेका छन्। अहिले नेपाल–भारत दुवै देशमा कोरोना भाइरसको संक्रमण तीव्र छ। तर, कोरोना संक्रमणको बाबजुत भारतमा रोजगारी गरी नेपालीहरु घर फर्किरहेका छन्। रुपन्देहीको बेलहिया नाकामा पर्व मान्न फर्किने नेपालीहरुको चहलपहल सुरु भइसकेको छ।

‘दैनिक दुई सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहनुभएको छ। यो संख्या दसैँ नजिकिँदा झन् बढ्ने देखिन्छ’, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने, ‘लामो समय रोजगारी गरेपछि चाडपर्व आफन्तसँग मनाउन कोरोना संक्रमणबीच पनि घर फर्कने नेपालीहरु बढेका छन्।’

कोरोना संक्रमणको डरले लकडाउनका बेला बेलहिया नाका हुँदै फर्किने नेपालीहरुको संख्या दैनिक ४–५ सय थियो। साउन र भदौमा त्यो संख्या घटेर एक सयको हाराहारीमा पुग्यो। असोज लागेयता बढेर २ सयभन्दा बढी पुगेको छ।

नजिकिँदै गरेका दसैँ, तिहार लगायत चाडबाड मान्न भारतका विभिन्न सहरमा रोजगारी गरी नेपालीहरु स्वदेश फर्किएका हुन्। कोरोना कहरबीच पनि चाडबाड मान्न बेलहिया नाकाबाट नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य मात्रामा छ। असोज १–१६ गते दिउँसोसम्म बेलहिया नाकाबाट ३ हजार ६ सय बढी नेपाली स्वदेश फर्किएका छन्। भारतको कानपुरमा रहेको होटलमा चौकीदारी काम गरेर फर्किएका गुल्मी नयाँगाउँका खगबहादुर नेपालीले डेढ वर्षपछि बल्ल दसैँ मान्न घर फर्किएको बताए।

swadesh-firta1.jpg

‘कोरोनामा पनि रातदिन खटेर काम गरेँ, दसैं आयो भएको दुईचार हजार रुपैयाँ जम्मा गरेर फर्किएको छु। अघिल्लो वर्ष दसैं लगायत चाड भारतमै मनाएँ। यसपल्ट परिवारसँगै मनाउँछु’, उनले भने।

उनले भारतबाट बेलहियासम्म सहजरुपमा आए पनि नेपाल आएपछि यातायात लगायतको सुविधा राम्रो नभएको र भौतिक दूरीको बेवास्ता गरिएको गुनासो गरे।

भारतको जम्मु काश्मिरबाट फर्किएका लमजुङ सुन्दर बजारका भरतबहादुर थापाले पनि यातायात व्यवसायीले मनपरी भाडा लिएको, भौतिक दूरी लगायत स्वास्थ्यका मापदण्ड पालन नगरिएको गुनासो गरे।

‘महामारी उच्च रहेको भारतमा म अहिलेसम्म सुरक्षित थिए। तर, नेपाल आएपछि कुनै पनि मापदण्ड पालन नगरेको पाइयो, जसले संक्रमण जोखिम बढेको छ’, उनले भने।

थापाले अन्य जिल्लामा क्वारेन्टिनको व्यवस्था भए पनि लमजुङमा नभएको आफन्तले बताएको जनाउँदै सबै जिल्लामा एउटै मापदण्ड बनाउन सरकारसँग माग गरे। एक वर्ष रोजगारी गरी दसैँ मान्नका लागि घर फर्किएको उनले बताए।

‘कोरोना महामारी भए पनि यसपाली परिवारसँग रमाउन पाउने भएपछि खुशी लागेको छ’, उनले भने।

उनीहरुजस्तै भारतमा रोजगारी गरी फर्कने नेपालीले सीमा क्षेत्रमा सास्ती खेप्ने गरेको गुनासो गरेका छन्। कतिपयले फर्कने क्रममा भारतीय भूमिमा समेत समस्या भएको बताएका छन्। सीमा क्षेत्रमा भौतिक दूरी, यातायातको राम्रो व्यवस्था नहुँदा र भीडभाड हुँदा कोरोना झन् फैलने त्रास बढेको घर फर्कने नेपालीको भनाई छ। प्रशासनले भने नेपाल भित्रिनेको तथ्यांक राखिएको, सामान्य स्वास्थ्य चेकजाँच गर्ने गरिएको र सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाएर स्वयं व्यक्तिले नै यातायातको व्यवस्था गरी गन्तव्यमा जाने व्यवस्था मिलाएको जनाएको छ।

swadesh-firta.jpg

प्रमुख जिल्ला अधिकारी घिमिरेले पर्व मान्न आउने नेपालीहरु क्वारेन्टिनमा बस्नु पर्ने र त्यसको व्यवस्था सम्बन्धित स्थानीय सरकारले मिलाएको जनाए।

‘हामीले सीमामा व्यक्तिको विवरण राख्ने, सामान्य चेकजाँच गर्ने गरेका छौं, उहाँहरु आफ्नो गाउँ पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ। स्वदेश भित्रिँदा, यात्रा गर्दा र घर पुगेपछि निश्चित समय सरकारी स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ’, उनले भने।

कोरोना नफैलियोस् भनेर रुपन्देहीमा बेलहिया नाकाबाट बाहेक अन्य नाकाबाट नेपाल–भारत आउजाउ गर्न रोक लगाइएको छ। स्वदेशीबाहेक अन्य भारतीय नागरिक नेपाल आउन चाहेमा कामको प्रकृति, प्रशासनको स्वीकृति र पीसीआर रिपोर्ट नेगेटिभ भएको कागजात पेस गरेर मात्रै प्रवेश दिइन्छ। भारतीय सुरक्षाकर्मीले पनि भारतमा सरकारी जागिर भएका, पेन्सन बुझ्न जाने, उपचारका लागि जाने गम्भीर बिरामी, आधार कार्ड भएकालाई मात्रै भारत प्रवेश दिने गरेको छ।

सधैँजसो यसपल्ट चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रको भारतीय बजार सुनौलीमा खरिदारीका लागि जाने नेपालीहरु भने छैनन्। खरिदका लागि भारतीय बजार जानेहरुलाई प्रहरी प्रशासनले रोकेकाले सीमाका भारतीय बजार सुनसान छन्। तर, पर्व मान्न आउने नेपालीहरुको सीमा क्षेत्रमा भने घुइँचो लाग्न थालेको छ। स्वास्थ्यका मापदण्ड समेत पालना नगरिँदा पर्वका बेला गाउँगाउँमा कोरोना संक्रमण फैलन खतरा भने बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .