ad ad

समाज


सुदूरपश्चिमका यी पाँच प्रयोगशालामा हुन्छ कोरोना परीक्षण, अझै दुईवटा थप्ने तयारी

सुदूरपश्चिमका यी पाँच प्रयोगशालामा हुन्छ कोरोना परीक्षण, अझै दुईवटा थप्ने तयारी

गोकुल जोशी
असोज ९, २०७७ शुक्रबार ७:२७,

गत माघ १० गते नेपालमा कोरोना भाइरस (कोभिड–१९) को पहिलो केस भेटिएको थियो। चैतदेखि संक्रमण तीव्र हुन थालेपछि सरकारले सम्भावित संक्रमण रोकथामका लागि ‘लकडाउन’ जारी गर्‍यो।

नेपालमा कोरोना संक्रमण देखिएको समयमा सुदूरपश्चिममा यसको परीक्षणका लागि एउटा पनि प्रयोगशाला थिएन। प्रयोगशालाको अभावमा स्वाब अन्यत्रका प्रयोगशाला पठाउनु पर्ने बाध्यता थियो। अहिले भने यो बाध्यता हटेको छ।

कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न ठाउँमा प्रयोगशाला स्थापना गरिएका छन्। जसले गर्दा कोरोना परीक्षणको दायरा पनि फराकिलो भएको छ। प्रदेशमा प्रयोगशाला थपेर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

सुदूरपश्चिम प्रदेशमा हाल पाँच ठाउँबाट कोरोना परीक्षण भइरहेको उनले जानकारी दिए। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी र जिल्ला अस्पताल बझाङको प्रयोगशालाबाट अहिले परीक्षण भइरहेको छ। बैतडी र बझाङ जिल्ला अस्पतालका प्रयोगशाला यही महिनादेखि सञ्चालमा आएका हुन्।

नयाँ प्रयोगशाला स्थापना भएसँगै स्वाब संकलन गरेर परीक्षणका लागि लामो समयसम्म पर्खनुपर्ने अवस्था अन्त्य भएको डा. अवस्थीले बताए। ‘पाँच ठाउँमा प्रयोगशाला छन्। ती प्रयोगशालाको दैनिक ६ हजार स्वाब परीक्षण गर्ने क्षमता छ’, निर्देशक अवस्थीले नेपालखबरसँग भने, ‘रिपोर्टका लागि कुर्नुपर्ने अवस्था छैन्, २४ घण्टैभित्रै नतिजा दिन सक्न अवस्थामा छौँ।’

भारतबाट आएका दुई हजारभन्दा बढी मानिस अझै क्वारेन्टिनमा छन्। सुरुवातमा प्रयोगशाला नभएर अन्य क्षेत्रको प्रयोगशालामा नमूना पठाउँदा परीक्षण सुस्त तथा रिपोर्ट आउन निकै समय लाग्ने गरेको थियो। क्वारेन्टिनमा बसेकाहरुको नमूना संकलन गरी पठाएको १५/२० दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा त्यसै घर पठाइएका कतिपयमा संक्रमण पनि देखिएको थियो। सुदूरका पहाडी भेगमा प्रयोगशाला स्थापना गरिएपछि अहिले यो समस्या हटेको छ।

अझै २ प्रयोगशाला थप्ने तयारी
सुदूरपश्चिमका दुई ठाउँमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने तयारी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कञ्चनपुरको महाकाली अस्पताल र अछामको कमल बजारमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाको कार्य जारी रहेको निर्देशक अवस्थीले बताए।

यी प्रयोगशाला असोज महिनाभित्र सञ्चालनमा आउने उनको दाबी छ। महाकाली अस्पतालमा स्थापना गरिने प्रयोगशालाका लागि भीमदत्त नगरपालिकाले आरटीपीसीआर मेसिन खरिद गरिसकेको छ।

६ महिनापछि सरकारको निर्णय कार्यान्वयन
सुदूरपश्चिम प्रदेश सरकारको आफ्नै निर्णय ६ महिनापछि कार्यान्वयनमा आएको छ। गत चैत १५ गते डोटी, बैतडी र कैलालीमा प्रयोगशाला स्थापना गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। यो निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन करिब ६ महिना कुर्नु पर्यो। प्रदेश सरकारको निर्णय अनुसारनै कैलाली, डोटी र बैतडीमा प्रयोगशाला स्थापना गरिएको हो।

८० हजार बढीको कोरोना परीक्षण
हालसम्म सुदूरपश्चिममा ८० हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये ६ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै ५ हजार ८ सय ५५ जना संक्रमित उपचारपश्चात् निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .