ad ad

समाज


काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय आज : कति दिन थपिएला ? यसो भन्छन् ३ सीडीओ

काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय आज  : कति दिन थपिएला ? यसो भन्छन् ३ सीडीओ

नेपालखबर
भदौ १७, २०७७ बुधबार ३:२३,

कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा लागू निषेधाज्ञा (अत्यावश्यकबाहेक सबै गतिविधि बन्द) को अवधि आज (बुधबार) मध्यराति सकिँदै छ।

अतः अब यसलाई निरन्तरता दिने वा नदिने, दिने भए कति दिन र कस्तो स्वरूपमा दिने भन्ने विषयमा आज निर्णय गर्नुपर्नेछ।

यसका लागि अहिले ११ बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बीच छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नेपालखबरलाई जानकारी दिए।

‘आधिकारिक निर्णय नभएसम्म निषेधाज्ञा यति दिन थपिन्छ भनेर अहिले भन्न मिल्दैन,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘आज बैठक बसेर साझा धारणा बनाउँछौं र अन्तिम निर्णय गर्छाैं।’

यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि आधिकारिक निर्णय नहुँदासम्म यसै भन्न नसकिने बताइन्।

तर संक्रमण जुन ढंगले बढिरहेको छ, त्यस हिसाबले ‘कडाइ’ गर्न जरुरी नै देखिएकाे उनले बताइन्। यसकाे अर्थ निषेधाज्ञा नथपिने सम्भावना भने छैन। 

‘कडाइ त आवश्यक नै देखिएको छ,’ बुधबार बिहान नेपालखबरसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘अब गृहमन्त्रालयबाट कस्तो निर्देशन आउँछ, त्यहीअनुसार हामी निर्णय गर्ने तयारीमा छौं।’

गृह मन्त्रालयले विचार गरी अब थपिने प्रतिबन्ध कस्तो किसिमको बनाउने भन्ने निष्कर्ष दिने उनको भनाइ छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि आधिकारिक निर्णय नहुँदासम्म निषेधाज्ञा यति दिन यसरी थपिन्छ भनेर भन्न नसकिने बताए।

‘तर भरेसम्म यस विषयमा निर्णय हुन्छ,’ नेपालखबरसँग उनले भने।

यस विषयमा यसअघि हिजो मंगलबार पनि तीन जिल्लाका सीडीओबीच भर्चुअल बैठक भएको थियो। बैठकले पुनः एक हप्ता निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ। तर यसबारे आज सोध्दा तीनै जिल्लाका सीडीओले स्पष्ट बताएनन्।

अब थपिने निषेधाज्ञा केही परिमार्जित हुने चर्चा पनि चलेको छ। जसअन्तर्गत अत्यावश्यकसँगै थप केही क्षेत्र जस्तो : होम डेलिभरी र टेकअवे सेवालाई खुला गर्ने छलफल पनि चलिरहेको बताइएको छ।

तर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भने झैं आधिकारिक निर्णय नहुँदासम्म उपत्यकामा निषेधाज्ञा अर्थात् एक प्रकारको लकडाउन कति दिन कस्तो स्वरूपमा थपिन्छ भन्न सकिन्न।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले ‘कडाइ’ आवश्यक नै देखिएको बताउनुले भने निषेधाज्ञाको अवधि थपिने निश्चितजस्तै देखिन्छ।

तर कति दिन र कस्तो मोडलमा थपिन्छ, त्यो भने निर्णय नै कुर्नुपर्ने देखिन्छ। 

सरकारले गत चैत ११ देखिकाे देशव्यापी लकडाउन साउन ६ गते अन्त्य गरेयता देशका विभिन्न जिल्लासँगै काठमाडौं उपत्यकामा पनि निषेधाज्ञामार्फत यही भदाै ३ गतेदेखि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा प्रतिबन्ध लगाइएकाे छ। 

सुरुमा एक हप्ता अर्थात् भदाै १० सम्मका लागि जारी गरिएकाे निषेधाज्ञा पुन: एक हप्ता लम्ब्याएर भदाै १७ अर्थात् आज राति १२ बजेसम्‍म पुर्‍याइएकाे हाे। 

तर संक्रमण बढ्ने क्रम नरोकिएकाले याे प्रतिबन्ध फेरि पनि थप गर्न लागिएकाे हाे। 

याे पनिकाठमाडौँका ३९३ सहित उपत्यकामा थपिए ४८१ कोरोना संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .