वागमती प्रदेशमा गम्भीर अवस्थामा रहेका १३ जना कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वागमती प्रदेशमा ७१ जनालाई आइसीयू र थप १३ जनालाई भेन्टिलेटरमा राखिएको हो।
विज्ञहरुका अनुसार गम्भीर अवस्थाका कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने हुन्छ।
भेन्टिलेटरमा राखिएको व्यक्ति कमैमात्र निको हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताए।
‘गम्भीर अबस्थाका संक्रमितलाई अन्तिम अवस्थामा भेन्टिलेटरमा राखिन्छ,’ डा. पाण्डेले भने, ‘भेन्टिलेटरमा उपचार गरिएको व्यक्ति कमैमात्र निको हुने गरेका छन्।’
काठमाडौं उपत्यकाका तीन जिल्लासहित १३ जिल्ला रहेको सो प्रदेशमा पछिल्लो दिन संक्रमण दर ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा वागमती प्रदेशमा २ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पछिल्लो २४ घण्टामा ३ सय १ जना संक्रमित थपिएका छन्।
यो संख्या अहिलेसम्मकै उच्च हो। तीन वटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा १७ गतेसम्मलाई थप गरेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश १ को विराटनगरमा पनि एक जनालाई भेन्टिलेटरमा राखिएको छ।
सो प्रदेशमा १६ जनाको आइसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा सो प्रदेशमा १ जना संक्रमितको मृत्यु भएको छ।
कोरोनाले भयावह पारेको प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भइसकेको छ। सो प्रदेशमा ४९ जनाको आइसीयूमा उपचार भइरहेको छ।
प्रतिक्रिया