ad ad

समाज


नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने

नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ११:५८,

नुवाकोट प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद् (सीटीईभीटी) ले नुवाकोटमा स्थापना हुने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका–१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्ने भएको छ।

सीटीईभीटी सीप विकासका इन्जिनियरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सचिवालयका विनोद न्यौपानेको टोलीले सो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी टंकनाथ ढकालको अध्यक्षतामा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष हीरानाथ खतिवडा, जिसस प्रमुख सन्तमान तामाङ, नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतको उपस्थितिमा सो टोलीले इन्द्रेणीघाटको स्थलगत अवोलकन गरेको थियो।

केही दिन अगाडि भएको स्थलगत निरीक्षणपछि प्रजिअ ढकालका अध्यक्षतामा बसेको बैठकले बहुप्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ। बैठकले यसै शैक्षिक सत्रमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानका दुई कार्यक्रम सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मा जिसस र नगरपालिकाले गर्ने निर्णयसमेत गरेको नगर प्रमुख पण्डितले जानकारी दिए।

बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था गरिदिन नगरपालिकालाई र कार्यशाला एवं प्रयोगशालासहित अन्य पूर्वाधारका लागि संघीय तथा प्रदेशसभा सदस्य एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ।

नगर प्रमुख पण्डितका अनुसार नुवाकोटमा पहिलो पल्ट स्थापना हुन लागेको सीटीईभीटीको आंगिक शिक्षालयमा पशु विज्ञान, बाली विज्ञान, होटल व्यवस्थापन तथा पर्यटन, सिभिल इन्जिनियरिङ, स्वास्थ्य तथा सामान्य चिकित्सा र फार्मेसीतर्फ तीनवर्षे डिप्लोमा कार्यक्रम प्रस्तावित गरिएको छ। भौतिक व्यवस्थापनका लागि हाल त्रिभुवन त्रिशूली माविको भवन, शहीद प्रतिष्ठान भवन र वागवानी कृषि केन्द्र भवनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरिने छ।

नुवाकोटको तुप्चेमा जन्मेएका बोगटी तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा र सूचना तथा सञ्चारमन्त्रीसम्म भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .