ad ad

समाज


छाडा चौपायाले कुरुप बन्दै भैरहवा सहर, दुर्घटनाको जोखिम बढ्दो

छाडा चौपायाले कुरुप बन्दै भैरहवा सहर, दुर्घटनाको जोखिम बढ्दो

प्रकाश न्यौपाने
साउन २०, २०७७ मंगलबार ८:५,

छाडा पशु चौपायाले भैरहवा क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ। सिद्धार्थनगर नगरपालिकाले चौपाया व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन नसक्दा सधैँजसो समस्या बल्झिरहेको छ।

स्थानीयस्तरमा व्यापक आलोचना हुँदा समेत नगर मौन छ। भैरहवा सहरको मुख्य सडकदेखि चोक र गल्लीगल्लीसम्म पशु चौपाया छपक्कै छन्। नगरसँग व्यवस्थापनको ठोस योजना नै छैन।

‘पशु चौपायाका कारण कयौं नागरिक दुर्घटनामा परिसकेका छन्। कतिको मृत्यु भयो र अंगभंग भए। अर्कोतर्फ सहरको सौन्दर्यीकरण ह्रास हुँदै गएको छ। पटकपटक व्यवस्थापन गर्न आग्रह गर्दा समेत नगरपालिका रमिते बनेको छ’, स्थानीय सामाजिक अगुवा विजयगोविन्द श्रेष्ठले भने। अझै पनि चौपाया व्यवस्थापनमा ध्यान नदिने हो भने भोलिका दिनमा यसले भयावह स्थिति ल्याउनसक्ने उनले बताए।

सडकमा छपक्कै गाईगोरु, बाछाबाछी र कुकुरलगायत दर्जनौं पशु चौपाया छाडिएका छन् । छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ नै सवारीसाधनलाई आफ्नो गति तय गर्नसमेत कठिनाइ हुने गरेको छ। कानुनले छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। नेपालको संविधानको स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चित गरेको छ । तर, यहाँको स्थानीय सरकार भने व्यवस्थापनमा अग्रसर छैन ।

chhada chaupaya bhairahawa 2

सडक नै ढाकेर छाडा चौपाया ओहोरदोहोर गर्छन्। जथाभावी दिसापिसाब गर्छन्। यसले सडकको सौन्दर्यमा कुरुपता ल्याएको मात्रै छैन, आयुसमेत घटाउँदै लगेको छ। चौपायाको दिसा सफा गर्नेतर्फ पनि नगरपालिकाको ध्यान छैन। अर्कोतर्फ छाडा चौपाया बढ्दै जाँदा स्थानीयले करेसाबारीमा लगाएको तरकारी बाली, बजार क्षेत्रमा लगाइएको बिरुवा खाने गरेका छन्। होटल तथा रेष्टुरेन्ट, तरकारी पसल अगाडि गाईगोरुको भीड लाग्ने गरेको छ।

चौपायाको संख्यामा वृद्धि हुँदै जाँदा तिनलाई सवारीले ठक्कर दिएर मार्ने क्रम पनि बढ्दो छ। दूध दिँदासम्म पाल्ने र त्यसपछि फुकाएर लखेट्ने काम स्थानीयले गर्दै आएका छन्।

‘स्थानीयलाई नगरपालिकाले सचेत गराउनुपर्छ। दूध दिँदासम्म खाने र त्यसपछि फुकाएर लखेट्ने क्रम बढ्दो छ। कानुनको पालना गराउने र चौपाया व्यवस्थापन गर्ने काम स्थानीय सरकारको हो’, श्रेष्ठले भने, ‘जसको गाईगोरु हो उसैलाई जिम्मा लगाउने वा कान्जी आउसमा लगेर छाड्नुपर्छ । यसतर्फ तुरुन्त नगरपालिकाको ध्यान जानुपर्छ।’

ट्राफिक प्रहरीले पनि छाडा पशु चौपायाका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या भएको बताउँदै आएको छ।

‘सडकभरि चौपाया छन्, यसले गर्दा सवारी आउजाउमा समस्या भएको छ। दुर्घटना भएको छ र हुने खतरा उत्तिकै छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र बुढाथोकीले भने, ‘हामी दैनिक धपाउँछौं तर उत्तिखेरै फर्किन्छन्, नगरपालिकासँग कुरा गर्दा चासै दिँदैन । व्यवस्थापनमा चाँडो ध्यान नदिए भोलिका दिनमा झनै समस्या बढ्दै जान्छ र चौपायाका कारण दुर्घटनाको दरसमेत बढ्ने देखिन्छ।’

chhada chaupaya bhairahawa 3

सहरका बीचमा छाडा पशु चौपाया व्यवस्थित गर्न ठाउँ नपाउँदा नगरपालिकाले पनि दिगो समाधान गर्नसकेको छैन। छिमेकी तिलोत्तममा नगरपालिका र नवलपरासीमा कान्जी हाउस छ। तर, ती ठाउँमासमेत चौपाया लगेर छाड्न नगरपालिका चुकेको छ । स्थानीयहरुले दिनहुँजसो गुनासो गरिरहँदासमेत नगरपालिकाले बेवास्ता गर्दै आएको छ । सामाजिक संजाल र गोष्ठीहरुमा नगरपालिकाको चर्को आलोचना भइरहेको छ।

सवारी चालकले सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम बढेको गुनासो गर्छन् । ‘गाडी हिँड्ने बाटो नै ढाकेर चौपाया हिँडिरहेका हुन्छन् । गाडी रोकेर धपाएपछि मात्रै यात्रा गर्नुपर्ने अवस्था छ । दिनमा केही सहज भए पनि रातिको समयमा दुर्घटनाको बढी खतरा हुने गरेको छ’, चालक रमेश यादवले भने ।

भैरहवाको बैंकरोड, गल्लामण्डी, विपीपथ, लुम्बिनीरोड, आवारोड, हाटबजार, मिलनचोक, बसपार्क, आँखा अस्पताल, जनकपथ, शान्तिनगर, नारायणस्थान, सिद्धार्थरागमार्ग लगायतका स्थानमा पशु चौपायाको भीड नै लाग्ने गरेको छ । नगरका सबैजसो वडामा चौपायाले सडक छेक्ने गरेका छन् । सडकसँगै चौपायाले पैदल यात्रु हिँड्ने फुटपाथसमेत छेक्ने गरेका छन् ।

नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरभित्र जमिन अभावमा गौशाला बनाउन नसक्दा गाईगोरु व्यवस्थापनमा समस्या परेको जनाए । ‘यसअघि हामीले शंकरनगर र भलुहीमा रहेको गौशालामा चौपाया लगेर छाड्ने गरेका थियौं तर अहिले त्यहाँ ठाउँ छैन । नजिक अन्य ठाउँमा गौशाला नहुँदा समस्या भएको छ’, उनले भने । अधिकारीले गौशाला बनाउन आफूले छिमेकी स्थानीय तहहरुसँग र प्रदेश सरकारसँग समन्वय गरिरहे पनि जमिन नपाएको बताए । चौपायाका कारण नगरमा दुर्घटनाको जोखिम बढेकोप्रति आफू पनि चिन्तित रहेको उनको भनाई छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .