केही दिनयता काठमाडौं उपत्यकासहित देशका ठूला सहरमा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढ्दै गएको छ।
पछिल्लो तीन दिनमा मात्रै उपत्यकामा १ सय १३ जना संक्रमित फेला परेका छन्। बिहीबारमात्रै काठमाडौँ उपत्यकाकामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई-दुई जना सङ्क्रमण देखिएको हो।
काठमाडौंमा व्यापारी, पेसाकर्मी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई समेत कोरोना संक्रमण देखिसकेको छ। परीक्षणको दायरा बढाए अझै संक्रमित संख्यामा वृद्धि हुने जनस्वास्थ्य विज्ञहरु बताउँछन्।
‘सामाजमा संक्रमण छ भन्ने हामीलाई पहिलेदेखि नै थाहा थियो। तर परीक्षण कम हुँदा देखिएको थिएन,’ जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणी दीक्षितले भने, ‘अहिले परीक्षण भएका स्थानमा संक्रमित देखिन थालेका छन्। विभिन्न पेसाकर्मीसहित सर्वसाधारणलाई पनि संक्रमण देखिँदा जोखिम बढेको छ।’
लकडाउन खुल्नुको अर्थ महामारीको जोखिम घटेको ठानेरमा मानिसहरुले मास्क नलगाउने र दूरी कायम नगर्ने गर्दा संक्रमण बढेको बताए।
‘सहरमा घनाबस्ती भएकाले यहाँ तीव्र रुपमा संक्रमण फैलने सम्भावना रहन्छ,’ दीक्षितले भने, ‘मुख्य सहर ठप्प हुँदा त्यसले देशको अर्थतन्त्रमा पनि असर पु¥याउँछ। त्यसैले नागरिकले कम्तीमा मास्क लगाउन र दूरी कायम गर्न हेलचेक्र्याइँ गर्नुभएन।’
प्रदेश राजधानीहरुको अवस्था
लामो समय ठप्प प्रदेश २ को मुख्य सहर वीरगञ्ज लकडाउन खुकुलो भएसँगै तंग्रिन थालेको थियो। तर, समुदायमा कोरोना संक्रमण फैलिएपछि शनिबारदेखि त्यहाँ पुनः निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले डाकेको सर्वपक्षीय बैठकले समुदायमै संक्रमण फैलिएको निष्कर्ष निकाल्दै महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको थियो। निषेधाज्ञाले कोरोना संक्रमितको चेनब्रेक गर्न मद्दत पु¥याउने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय बताउँछन्।
साउन १० यताका पाँच दिनमा मात्रै पर्सामा ६७ जनामा संक्रमण भेटिएको छ। घना जनसंख्या, हिँडडुल बढी तथा सीमासँग जोडिएको सहर भएकाले पनि वीरगञ्जमा संक्रमणको चपेटामा परेको डा. उपाध्यायले बताए।
वीरगञ्ज मात्र होइन, पछिल्लो समय मुलुकका मुख्य सहरमा पनि कोरोना भाइरसको संक्रमण बढेको छ।
प्रदेश १ मा बुधबारसम्म ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ७ सय ४५ जना निको भई डिस्चार्ज भएका छन् भने १ सय ८५ जना उपचाररत छन्। संक्रमित भएकामध्ये सबैभन्दा बढी मोरङका २ सय ९४ जना छन्। जहाँ प्रदेश राजधानी विराटनगर अवस्थित छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रन्जु रेग्मीले संक्रमितमध्ये अधिकांश विराटनगरकै भएको बताइन्।
गण्डकी प्रदेशको मुख्य सहर पोखरा भने देशका अन्य सहरको तुलनामा सुरक्षित देखिएको छ। स्वास्थ्य निर्देशनायलका अनुसार साउन १४ गतेसम्म प्रदेशमा १ हजार ४ सय ४१ संक्रमित छन्। जसमध्ये कास्कीमा १ सय १३ जना छन्। तीमध्ये ९८ जना निको भइसकेका छन् भन् १५ जना सक्रिय संक्रमित छन्।
प्रदेश ५ को मुख्य सहर नेपालगञ्ज अवस्थित बाँके जिल्लामा ४ सय ५ जनामा कोरोना संक्रमण भेटिइसकेको छ। हाल जिल्लामा २४ जना आइसोलेसनमा रहेको र तीमध्ये नेपालगञ्जका ७ जना तथा नेपालगञ्जसँगै जोडिएका खजुराका ८ र कोहलपुलका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ। समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए।
नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो।
गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ।
कर्णाली प्रदेशमा बुधबारसम्म २ सय २६ जना सक्रिय संक्रमित छन्। जसमध्ये १ सय २० संक्रमित प्रदेश राजधानी समेत रहेको सुर्खेतका छन्।
यस्तै सुदूरपश्चिम प्रदेशमा संक्रमित संख्या ४ हजार २ सय ५७ पुग्दा मुख्य सहर धनगढी रहेको कैलालीमा संक्रमितको संख्या १ हजार छ।
प्रतिक्रिया