बागलुङका दुई युवतीले बिहे गरेर अमेरिका लैजाने भन्दै विभिन्न युवाहरुसँग लाखौं रुपैयाँ ठगी गरेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले बागलुङको काठे गाउँपालिका २ की २७ वर्षीय कोपिला शर्मा र १९ वर्षीय अमिशा केसीलाई पक्राउ गरेपछि उनीहरुको कर्तुत खुलेको हो।
उनीहरुले बिहे गरेर अमेरिका लैजाने भन्दै विभिन्न युवाबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।
फेसबुक, टिकटक मार्फत युवाहरुलाई फलो गर्ने र आफू अमेरिकाको डीभी परी क्यार्लिफोनियामा बस्दै आएको, बिहे गरेर अमेरिका लैजाने आश्वसन समेत दिएको पाइएको छ।
प्रेम गर्ने नाटक समेत गरेर युवकहरुबाट रकम असुल्ने गरेको भन्दै पीडितले महाशाखामा जाहेरी दिएका थिए। पीडितको जाहेरीपछि अनुसन्धानका क्रममा उनीहरु बागलुङका भएको पत्ता लागेको थियो।
उनीहरु हाल भक्तपुरको सूर्यविनायक नगरपालिका रोज भिलेज कोलोनिमा बस्ने गरेको पत्ता लागेको थियो। ६ लाख ६० हजार रुपैयाँ ठगी गरेपछि उनीहरु रुपन्देहीको बुटवलमा बस्ने गरेका थिए।
महाशाखाले शुक्रबार बुटवलमा पक्राउ गरी काठमाडौं ल्याएको थियो। उनीहरुलाई थप कारबाहीका लागि महानगरीय प्रहरी बृत्त ठिमी पठाएको छ।
कोपिला शर्माले आफू अमेरिकाको डीभी परेको र लकडाउनका कारण अमेरिका फर्किन नपाएको बताउने गरेकी थिइन्। अब नेपालमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने र त्यसका लागि पार्टनर आवश्यक परेको भन्दै भक्तपुरका एक युवकसँग ५ लाख रुपैयाँ ठगी गरेको पाइएको छ।
भक्तपुरकै अर्की युवतीसँग भने मित लगाएर अमेरिका लैजान्छु भन्दै एक लाख ६० हजार रुपैयाँ ठगेकी थिइन्। फिल्म क्षेत्रका केही व्यक्तिलाई पनि बिहे गरेर अमेरिका लैजान्छु भन्दै फेसबुकबाट ठगी गर्ने प्रयास गरेको पाइएको छ।
Shares
प्रतिक्रिया