ad ad

समाज


सामान्य वर्षामै किन ज्यानमारा बन्न थाले पाेखराका सडक?

सामान्य वर्षामै किन ज्यानमारा बन्न थाले पाेखराका सडक?

वाशुदेव मिश्र
साउन १, २०७६ बुधबार १३:१४,

केही दिनअघि पोखराको पृथ्वीचोकको सडकमै आएको बाढीले एउटा मोटरसाइकल बगाएको खवर सार्वजनिक भयो।

प्रहरी र स्थानीयले सो खवर पच्छ्याउँदै खोजतलास गरे। तर, मोटरसाइकललाई सडकमा आएको बाढीले बगाएको/नबगाएको एकिन हुन सकेको छैन।

सत्य के छ, भने पछिल्ला वर्षहरुमा पोखराको सडकमा सोच्दै नसोचेको बाढी आउन थालेको छ। सामान्य पानी पर्दा पनि बाढीले सडक काट्नै नसक्ने अवस्था सृजना भएको छ भने सडक छेउमा निकासको लागि बनाइका ढलहरु ‘ज्यानमारा’ बनेका छन्। ती ज्यानमारा ढलमा पनि वर्षाको पानी अटाउन छाेडेको छ।

तिथी र मिति ठ्याक्कै नभए पनि केही घटना सम्झौँ न! २०७४ सालको कार्तिकमा आएको बाढीले ग १३ प ३११० नम्बरको मोटरसाइकल चलाउँदै गरेका पिजन पुनलाई बेपत्ता बनायो। उनी लामाचौरमा रहेको गोर्खा बोर्डिङ नजिकबाट नालामा खसेका थिए। उनको पछि बसेका सुवर्ण पुन घटनामा घाइते भएका थिए।

अविरल वर्षासँगै बढेको नालीमा पर्दा लामाचौरका कृष्णबहादुर थापाले पनि ज्यान गुमाए। गण्डकी बोर्डिङमा कार्यरत थापालाई त्यहीको खत्रीढलले बगाएको थियो। उता, थापाजस्तै बिरौटामा गंगाप्रसाद सुवेदीलाई नालाले निल्यो। पोखराकै मालपोत कार्यालयनेर बाढीमा परेका सुरवीर जोशीको पनि लास भेटियो सास भेटिए।

दुई वर्षअघि तीजको दर खाएर फर्केकी ४८ वर्षीया मीना भण्डारीलाई पनि भलले नै खायो। सिद्धार्थ क्लवनेरबाट बगेकी उनको शव फेवातालको किनारनेर भेटियो। भदौमा गएको बाढीले उनलाई निलेको थियो। फिर्केको बाढीमा परेकी उनी दाङकी स्थायी बासिन्दा थिइन्।

मालेपाटनमा नालाले बगाएर एक बालकको ज्यान गयो भने शिशुवामा पनि नालाले बगाउँदा एक ८ वर्षीय बालकका मृत्यु भएको थियो।

यी प्रतिनिधि घटना मात्रै हुन्।

हिजोआज शहरी क्षेत्रका नाला बाटाहरु ज्यानमारा बनेका छन्। हिजो कम पानी बग्ने नाला र कुलेसाहरु गड्गडाउने बनेका छन्। ‘पछिल्लो समयमा पोखरामा सानै पानी पर्दा पनि बाटोमा ठूलो भल बग्ने गरेको छ,पहिला यस्तो हुँदैनथ्यो’, पोखरा महानगरपालिका वडा नम्बर ३ का पूर्वअध्यक्ष नारायण उदासले भने,‘पहिला जमिनले पानी सोस्थ्यो र भल सानो हुन्थ्यो, अहिले पानी सोस्ने जग्गा छैन, पानी सोझै नाला वा सडकमा आइपुग्छ।’

पोखराको पालिखेचोकलाई लामो समयदेखि देख्दै आएका उनका अनुसार पहिला पालिखेचोकमा आउने पानीघोला अहिले पनि बदलिएको छैन तर बाढीको मात्रा भने बढेको छ। पोखराको भौगोलिक उचाई समुद्र सतहबाट ८ सय २७ मिटर रहेको छ। त्यसो त ड्यामसाइडबाट माथितिर उक्लँदै आउने हो भने यहाँको उचाई पनि बढ्दै जान्छ।

लामाचौर क्षेत्रको उचाई सबैभन्दा अग्लो छ। यहाँको विन्ध्यावासिनीभन्दा तलको मोहोरियाटोलको उकालोको पानी बगेर फेवातालतिरै आउने हो। सराङकोट क्षेत्रबाट झरेको पानी पनि फिर्केहुँदै फेवातालतिरै पुग्छ। पानीको स्वभाव नै तल बग्ने हो।

तर, पहिलाभन्दा अहिले पानीको बहाव र मात्रा बढेकोमा बूढापाकाहरु पनि अचम्म मान्छन्। ‘पहिला ढलले नै यहाँको पानीको बहाव धान्थ्यो, आजकल ढलमा नअटेर पानी सडकमा बग्न थालेको छ’,एक बसाईमा पोखरा रैथाने कवि तीर्थ श्रेष्ठले भनेका थिए,‘खालि जमिन बाँकी नहुँदा यो समस्या देखिएको हो।’

पोखरा देशकै सबैभन्दा बढी पानी पर्ने ठाउँ हो। अघिल्लो वर्षको असारमा यहाँ २४ घण्टामा २ सय मिलिलिटर वर्षा भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय पोखराको, फिल्ड कार्यालय पोखरा विमानस्थलको तथ्यांक अनुसार यहाँ हरेक वर्ष ९ सय ४० मिलिलिटरसम्म वर्षा हुन्छ। कार्यालय प्रमुख राजाराम ढकालका अनुसार सन् २०१५ को असारमा यहाँ ४ घण्टामै २ सय ८९ मिलिलिटर वर्षा भएको थियो।

pokhara ko sadakसडकमा जमेकाे पानीमा डुंगा चलाउँदै एक पाेखरेली

छोटो समयमा यति ठूलो वर्षा भनेको बूढापाकाको शब्दमा ‘आरी घोप्ट्याए’ जस्तै हो। वर्षा त पहिला पनि त्यति नै हुन्थ्यो। यहाँको माटोले छिट्टै सोस्थ्यो। हिलो हुँदैनथ्यो। तर, आजकल भने पानी पर्नासाथ डर मान्नुपर्ने अवस्था आएको छ। पत्रकार पुण्य पौडेलकै शब्द सापट लिने हो भने पनि ‘अहिले पानी परेपछि पोखरा असुरक्षित बनेको छ।’

उनले जलवायू परिवर्तनले यहाँको मौषमी प्रक्रियामा असर गरे पनि बाटोमै बाढी आउनुलाई भने पानी सोस्ने जग्गा घट्दै ग्एकोको रुपमा अथ्र्याए। पोखरा महानरपालिकाका बरिष्ठ इञ्जिनियर सारदामोहन काफ्लेका अनुसार पोखरामा वार्षिक करिब ३ हजार घर बन्छन्। पछिल्ला वर्षहरुमा यो दर अझै बढ्दै गएको छ।

‘घर बढ्दै जाँदा खालि जमिन पनि माँसिदै गएको छ र पानी भण्डारण गर्ने क्षमता घट्दै गएको छ’उनले भने,‘ यसले गर्दा यहाँ हिजो बनेका नालीहरु साना हुन थालेका छन्, पानी सडकमा बग्न थालेको छ।’ उनका अनुसार पछिल्लो समय देखिएको यही अवस्थालाई ध्यानमा राखेर महानगरले ढल निकास विभागसँगको सहकार्यमा महानगरको नयाँ सहरी डिजाइन बनाउँदैछ। यो डिजाइन बनेपछि यहाँका नाला र बाटा कस्ता हुने भन्ने निक्र्यौल गरिने र अहिले देखिएको समस्या समाधान हुने उनले जनाए।

सडकमा बढी पानी बगेर क्षति बढ्दै गएपछि भित्री बाटाहरु ढलान गर्न थालिएको पनि उनले बताए। महानगरले शहरी क्षेत्रका आवासीय भवन बनाउँदा ३० देखि ४० प्रतिशत, होटल र विद्यालय बनाउँदा ५० प्रतिशत खालि जग्गा राख्नुपर्ने प्रावधान समेत राखेको छ। यो मापडण्ड लागू भएको भए पनि पोखराको जमिनले धेरै पानी सोस्थ्यो र सडकमा भल बग्दैनथ्यो।

तर, मापडण्ड कागजमै सीमित रहेको बताउँछन्, भूगोलवीद भानु पराजुली। उनका अनुसार जलवायु परिवर्तनले पनि यो क्षेत्रमा पछिल्लो पटक लामो समयसम्म झरी पर्नेभन्दा पनि संवाहनिक (कन्भेन्सनल ) वर्षा हुन थालेको छ। यसको अर्थ यहाँ पानी एक्कैछिन दर्केर पर्छ र त्यसले बढी मानवीय र भौतिक क्षति गराउँछ।

‘तर सबै कुराको जड भनेको खालि जमिन कम हुँदै जानु नै हो, यो समस्या यहाँको मात्र नभएर राजधानीलगायतका शहरहरुको पनि हो, जसले गर्दा सानो पानी पर्दा पनि मानवीय क्षति बढी हुन थालेको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .