ad ad

समाज


भारतीय नहरका कारण रूपन्देहीको मर्चवार गाउँ नै डुब्ने खतरामा, स्थानीयकाे हारगुहार

भारतीय नहरका कारण रूपन्देहीको मर्चवार गाउँ नै डुब्ने खतरामा, स्थानीयकाे हारगुहार

प्रकाश न्यौपाने
साउन ५, २०७७ सोमबार ४:५४,

भारतले उत्तर प्रदेशका विभिन्न जिल्लामा नहर निर्माण गरिरहेका कारण रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार डुबानमा परेको छ।

उत्तर प्रदेशका ९ जिल्लाको १२ लाख हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउन भारत सरकारले सरयु नहर परियोजनाअन्तर्गत अहिले धमाधम नहर निर्माण गरिरहेको हो।

सन् १९७४ मा सुरु परियोजनाको काम अहिले रूपन्देहीको सीमावर्ती क्षेत्रसम्म आइपुगेको हो। कर्णाली अर्थात् घाघरा नदीबाट सुरु यो नहर सरयु, राप्ती, वनगंगा र रोहिणी नदीमा गएर जोडिनेछ।

अन्य जिल्लामा दशगजा क्षेत्रभन्दा निकै टाढा नहर बनाइएको छ, तर रूपन्देहीमा यो दूरी ५ सय मिटर नजिक पारिएको छ। जसले गर्दा नेपाल हुँदै बग्ने खहरे खोला, नहर, नाला, कुलोको पानीको बहाव नै बन्द भएको छ।

जमिनको सतहभन्दा नहरको पर्खाल १० फिट अग्लो भएकाले रूपन्देहीबाट बहने नदीको वेग रोकिँदा नेपालतर्फका खेतबारी डुबानमा परेका हुन्।

sarayu 20

‘दशगजाको नजिक यति ठूलो पर्खालजस्तो नहर बनाउँदा मर्चवार पूरै डुब्ने अवस्था आएको छ। भारतले आफ्नो सुविधाका लागि नेपाली किसानको ढाडै भाँच्नेगरी नहर बनाएको छ। यो तत्काल रोकिनुपर्छ,’ सम्मरीमाई गाउँपालिकाका वडाअध्यक्ष नेवास अली दर्जीले भने। जसका कारण वर्षा याममा नेपालतर्फबाट वहने दर्जन खहरे खोलाले मर्चवार पूरै डुबानमा पर्ने अवस्था आएको उनको भनाइ छ।

स्थानीय नारद यादवले भारतको हेपाहा प्रवृत्तिले मर्चवारका हजारौं जनता विस्थापित हुने अवस्था आएको बताए। ‘जुन किसिमले नेपालबाट भारततर्फ नदी वहन्थे अब त्यसरी बहन पाउँदैनन्। त्यसको प्रत्यक्ष असर यहाँका नागरिकलाई पर्छ। १० फिट डुबानमा पर्यो भने मर्चवार पूरै सखाप हुन्छ। तुरुन्त नदी वहने क्षेत्र बनाउन सरकारले भारतसँग पहल गर्नुपर्छ’, उनले भने।

अन्तर्राष्ट्रिय कानुन जानकारका अनुसार नेपाल–भारत सीमामा के गर्न मिल्ने, के गर्न नमिल्ने भन्नेबारे दुईपक्षबीच कुनै सम्झौता भएको छैन। करिब ५ किलोमिटर क्षेत्रवरिपरी कुनै संरचना निर्माण गर्दा दुवै देशले एकअर्कालाई हानी नहुने गरी काम गर्नुपर्ने आपसी सहमति भने भएका छन्।

तर यो सरयु नहर परियोजनाअन्तर्गत नहर निर्माण गर्दा नेपाल भारतले नेपालसँग कुनै अनुमति लिएको वा सहमति गरेको छैन। नहरले खेतीयोग्य जमिन डुबानमा पर्दासमेत हाम्रो सरकारले कुनै चासो दिएको छैन। लगातार वर्षा हुने हो भने मर्चवारको ठूलो क्षेत्र डुबानमा पर्ने निश्चित छ।

‘रूपन्देहीबाट ठूलो नदीसँगै थुप्रै खहरे खोला भारततर्फ बग्छन्। ठूलाको केही निकास भए पनि साना नदीको निकास छैन। अन्य जिल्लामा दशगजाभन्दा धैरै टाढाबाट नहर बनाइएको छ। तर रूपन्देहीमा दशगजानजिकै बनाइएको छ। यसले गर्दा डुबानको डरमा यहाँका नागरिकको भोक/निद्रा हराएको छ’, वडाअध्यक्ष दर्जीले भने, ‘पानी वहने ठाउँ गराइएन भने भविष्यमा ठूलो जनधनको क्षति नहोला भन्न सकिन्न।’

भारतसँग जोडिएको नेपालका अधिकांश दक्षिणी भूभागमा खेती हुन्छ। मर्चवार कृषिमा आत्मनिर्भर छ। यहाँ कैयौं किसानले तरकारी खेती गरेरै लाखौं आम्दानी गर्छन्। धान, गहुँ पनि उत्तिकै उत्पादन हुन्छ। ‘मर्चवार उर्वर भूमि हो। भारतले दशगजानजिकै बनाएको नहरले वर्षे खेतीमा ठूलो क्षति पुर्याउने निश्चित छ।

सरकारले कूटनीतिक पहल गरेर तत्काल नहर निर्माण रोक्नुपर्छ,’ पूर्वकृषि राज्यमन्त्रीसमेत रहेका मर्चवारका नेता ओमप्रकाश यादव (गुल्जारी)ले भने, ‘दुई देशको समझदारीबिना नेपाली पक्षलाई दीर्घकालीन असर गर्ने गरी दशगजानजिक नदी उकास क्षेत्र नै रोक्ने गरी नहर बनाउन दिन हुँदैन।’

उनले दुई देशबीचको ‘रोटीबेटी’को सम्बन्धलाई मजबुत बनाउन पनि भारतले बनाइरहेको नहर तत्काल रोक्नुपर्ने धारणा राखे। नहरकै कारण मर्चवारमा भोकमरी आउने आशंका गर्दै उनले भने, ‘नहरले गर्दा मर्चवार डुबानमा पर्ने निश्चित छ। यसले खेती सबै नष्ट हुन्छ र यहाँ भोकमरी नै लाग्छ। यस्तो अवस्थामा राज्य पक्ष चनाखो हुन जरुरी छ।’

भारतले ४६ वर्षदेखि सरयु नहर निर्माण गरिरहेको छ। नेपालतर्फबाट साना खहरे खोला, नहर, कुलो लगायतबाट बग्ने नदी/खोलाको बहाव रोक्ने गरी काम गरिरहेको छ। अहिले मर्चवारमा सामान्य वर्षाले पनि करिब ५ सय हेक्टर धानबाली (भर्खर रोपेको) डुबानमा पारिसकेको छ। पानीको बहाव क्षेत्र खुला नगरे ठूलो वर्षा आउँदा हजारौं हेक्टर खेतसँगै गाउँ नै डुबानमा पर्ने त्रासले यहाँका बासिन्दा चिन्तित छन्।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतीय पक्षले नहर निर्माण गरिरहेको र मर्चवार क्षेत्र डुबानमा परेकोबारे आफूलाई जानकारी नभएको दाबी गरे। उनले यस विषयमा तत्काल बुझी आवश्यक प्रक्रिया अघि बढाउने बताए।

sarayu 60

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .