ad ad

समाज


रोजगारी गुमेका पत्रकारका लागि ‘विशेष राहत प्याकेज’ ल्याउन ११ संगठनको माग

रोजगारी गुमेका पत्रकारका लागि ‘विशेष राहत प्याकेज’ ल्याउन ११ संगठनको माग

नेपालखबर
असार १७, २०७७ बुधबार १२:४६,

देशमा क्रियाशील ११ पत्रकार संगठनहरुले कोरोना महामारीका कारण रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष उदय जीएम, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसी, प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, जनपत्रकार संगठन नेपालका सचिव सिर्जना तिमिल्सिना, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी र मिडिया सेन्टरका अध्यक्ष गोपाल पौड्यालले संयुक्त विज्ञप्ति प्रकाशित गरी पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि माग गरेका हुन्।

११ संगठनले कोभिड– १९ (कोरोना भाइरस) को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार/सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजीनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘विभिन्न बहानामा निष्काशन, राजीनामाको दवाव र काम गरेको पूरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया हामीलाई कुनै हालतमा स्वीकार्य छैन’ विज्ञप्तिमा भनिएको छ, ‘दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न हामी जोडदार माग गर्दछौं ।’

पत्रकार संगठनहरुले नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .