अमेरिकी सरकारका स्वास्थ्य सल्लाहकार तथा सरुवा रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा कोरोना भाइरस नियन्त्रणको अवस्थामा नरहेको बताएपछि ट्रम्पले ट्वीटमा आफू चीनसँग झनै रिसाएको बताएका हुन्।
ट्रम्पले ट्वीटमा भनेका छन्,‘जब म कोरोना महामारी विश्वभर घातक रुपमा फैलिएको देख्छु साथै यसले अमेरिकामा ठूलो क्षति पुर्याएको देख्छु म चीनदेखि झन् झन् रुष्ट बन्छु।’
हाल अमेरिका विश्वमा सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको राष्ट्र हो। गएको २४ घण्टामा मात्र अमेरिकामा ४७ हजारभन्दा बढी कोरोना संक्रमित थपिँदा सोही अवधिमा त्यहाँ ११ सयको मृत्यु भयो।
As I watch the Pandemic spread its ugly face all across the world, including the tremendous damage it has done to the USA, I become more and more angry at China. People can see it, and I can feel it!
— Donald J. Trump (@realDonaldTrump) June 30, 2020हालसम्म अमेरिकामा २७ लाखमा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १ लाख ३० हजारको मृत्यु भइसकेको छ।
ट्रम्पले सुरुवातदेखि कोरोना भाइरस फैलनुमा चीन दोषी भएको आरोप लगाउँदै आएका छन्। उनले चीनले कोरोनाको खतराबारे ढिला जानकारी दिएको कारण अमेरिकामा पनि कोरोना घातक बनेको बताउने गरेका छन्।
अमेरिकाले कोरोना भाइरस चिनियाँ ल्याबमा बनेको हुनसक्ने पनि आशंका व्यक्त गरेको छ। ट्रम्पले यसअघि कोरोना भाइरसलाई चिनियाँ भाइरस समेत भनेका थिए।
चीनले भने कोरोनाबारे जानकारी आफूले सुरुवातमै दिएको तर अमेरिकाले भाइरसको खतरालाई नजरअन्दाज गरेको बताउँदै आएको छ। एजेन्सी
प्रतिक्रिया