ad ad

समाज


सुस्मिता हत्याकाण्ड : ‘श्रीमानकाे मृत्युपछि ससुराबाट करणी, ससुरा र नन्दबाट हत्या’

सुस्मिता हत्याकाण्ड : ‘श्रीमानकाे मृत्युपछि ससुराबाट करणी, ससुरा र नन्दबाट हत्या’

उजिर कार्की
असार १५, २०७७ सोमबार ११:३६,

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या गर्नु पहिले ससुराले करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार सुस्मिताले आफुमाथि सासु–ससुरा र परिवारका अन्य सदस्यले दिएको दुखबारे नोट बनाएर राखेकी थिइन्, जुन प्रहरीले फेला पारेको छ।

प्रहरी अनुसन्धान रिपोर्टमा सुस्मिताको हत्याका तीन वटा कारण देखाइएको छ।

दोस्रो ‘यौनजन्य कारण’ शीर्षकमा भनिएको छ, ‘ससुरा प्रकाश थापाबाट बुहारी मृतक सुस्मिता क्षेत्री थापालाई बाथरुममा जबर्जस्ती करणी उद्योग गरेको।’

रानाका अनुसार त्यो नोटबाट पनि उनीमाथि ससुरा प्रकाश थापाले बलात्कार गरेको खुल्छ। साथै सुस्मिताले अफ्ना निकटका केटी साथीहरूलाई पठाएको म्यासेजबाट पनि बलात्कार भएको खुलेको तर घटनाको मिति उल्लेख नभएको रानाले बताए।

‘सुस्मिताले आफ्ना नजिकका केटी साथीहरूलाई पठाएको फोन म्यासेजबाट उनीमाथि ससुराले बलात्कार गरेको खुलेको छ’, उपरीक्षक रानाले भने, ‘प्रहरी अनुसन्धानबाट पनि बलात्कार गरेको पुष्टि भएको छ।’

hetauda-report.jpg

२०७६ वैशाख १८ गते प्रकाश थापाका छोरा रूपेन्द्र थापा र सुस्मिता क्षेत्रीबीच विवाह भएको हो।

२०७६ असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।

त्यसको झण्डै ९ महिनापछि, गत असार २ गते बिहान मकवानपुरस्थित घरको भान्सा कोठामा २४ वर्षीया सुस्मिता मृत फेला परिन्।

हेटौंडा उपमहानगरपालिका ४ कर्रा सूर्य चोकस्थित घरमा बिहान ६:२० बजे मृत भेटिएपछि स्थानीयले वडा प्रहरी कार्यालयमा खबर गरेका थिए। प्रहरी साढे ६ बजे घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाको कमाण्डको टोली पुग्दा भान्छा कोठामा उनी मृत फेला परेकी र ढोकाको चुकुल भित्रबाट बन्द रहेको बताइएको थियो। 

त्यसलगतै माईती पक्षलाई खबर गरिएको थियो। मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर हेटौंडा अस्पतालका मेडिकल–लिगल तालिम प्राप्त डाक्टरलाई साथमा लिई घटनास्थलमा पुगेका थिए।

दिउँसो करिव २ बजे सुस्मिताका बुवासहित आफन्त घट्नास्थलमा पुगेका थिए। स्थानीय जनप्रतिनिधी र माईती पक्षको रोहबरमा प्रहरीले ढोका फोरी हेर्दा सुस्मिता क्षेत्री थापाको शव उत्तानो अवस्थामा टाउकोमा चोट लागी रगत बगेको अवस्थामा फेला परेको थियो।

घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको समेत सहयोगमा अनुसन्धान गरेको थियो। माइती पक्षले हत्या अभियोगमा केटा तर्फका परिवारविरुद्ध किटानी जाहेरी दिएका थिए।

प्रहरीले डीएसपी ईन्द्रबहादुर रानाको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो। पोष्टमार्टमपछि सुस्मिताको शव ससुरा प्रकाश थापाले बुझेका थिए। पोष्टमार्टमको रिपोर्ट असार ४ गते आएको थियो।

मृतकका ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको थियो।

कसरी भयो हत्या?
गत असार १ गते बेलुकी साढे ९ बजे ससुरा प्रकाश थापा र सासु तुलसा थापा खाना खाएर भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए।

उनीहरुले प्रहरीलाई दिएको बयानअनुसार, खाना खानुअगाडि ससुरा प्रकाश थापाले रक्सी पिएका थिए।

त्यसपछि नन्द सीता थापा र मृतक सुस्मिता क्षेत्री थापाले भान्छा कोठामा खाना खाइरहेका थिए। सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईमा बसेर खाना खाँदै थिइन्।

त्यहिबेला ससुुराले बाहिरबाट काठको लौरो लिएर भान्छा कोठामा आएर टाउकोमा प्रहार गरे र सुस्मिता भुँईमा लडिन्। प्रहरी भन्छ– नन्द सीता थापाले पनि सुस्मितामाथी प्रहार गरिन्।

सुस्मिताले बचाउ–बचाउ भन्दै चिच्याउन थालिन्। ‘त्यो आवाज सुनेर सासु तुलसा भान्छा कोठामा पुगिन्। तर उनलाई ससुरा र नन्दले बाहिर निकाले। त्यसपछि ससुरा र नन्दले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममतापूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरियाे,’ बयानमा भनिएको छ।

सुस्मिताको मृत्युपछि सासु भित्र आएर फुटेको सिसाको कचौराको टुक्राहरू प्लास्टिकको झोलामा हालेर भान्छा कोठा अगाडिको बरन्डामा राखेकाे खुलेकाे छ।

सीताले आफ्नी आमालाई लिएर सुत्न गइन् र हल्ला नगर्न भनिन्। बाबु छोरी मिली घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि सल्लाह गरेको समेत बयानमा बताइएको छ।

भान्छा कोठाभित्र बिग्रिएका सबै चीजहरु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी बिभिन्न स्थानमा लागेका रगतहरू पुछे।

सीता भान्छाबाट निस्किन्। ससुरा प्रकाशले भित्रबाट ढोकाको चुक्कुल लगाई भान्छा कोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्कीएको बयानमा खुलेकाे छ।

फुटेका सिसाका टुक्राहरू र काठको लौरो घर पछाडिको मकैबारीमा भेटिएको थियो। बाबु छोरीले नै रगत लागेका कपडाहरू धोई पखाली गरेर आआफ्नो कोठामा गएको बयानमा खुल्छ।

भोलिपल्ट बिहान ५ बजे उठेर छरछिमेकलाई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भन्दै खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

याे पनि: हेटौंडामा भान्साकोठाभित्र महिला मृत फेला, माइती आइपुगेपछि मात्रै शव निकाल्ने तयारी

यस्तो छ हत्याको कारण
सुस्मिताका श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि उनका परिवारले सुस्मितालाई मानसिक यातना दिन थालेका थिए।

सुस्मिताका कारणले रूपेन्द्रको मृत्यु भएको परिवारका सदस्यहरूले उनलाई पटकपटक आक्षेप लगाउने र मानसिक तनाव दिने गरेको पाइएको प्रहरीको भनाई छ।

यस्तै रूपेन्द्रको मृत्युपछि क्षतिपूर्ति वापत पाउने ५ लाख रुपैयाँ सुस्मिताले बुझेकी थिइन्। परिवारका अरु सदस्यले आफैं पाउनुपर्ने भन्दै विबाद गरेका थिए।

रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो।

भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र श्रीमती सुस्मिता क्षेत्री थापा बीच विवाद भएकै कारण हालसम्म भुक्तानी हुन नसकेको पाइएको छ।

सामाजिक सुरक्षा कोषबाट २०७६ साल कात्तिकदेखि २०७७ वैशाखसम्म मासिक १७ हजार १ सय रुपैयाँका दरले एक लाख ७७ हजार ९४८ रुपैयाँ सुस्मिताको खातामा जम्मा भएको पाइएको छ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीबाट रुपेन्द्र थापाको १० लाखको बचत अमृत सावधिक जीवन बिमालेख दाबी भुक्तानी बापतको १० लाख ६३ हजार ९१४ रुपैयाँ भने ईच्छाईएको व्यक्ति उनका बुबा प्रकाश थापाले लिईसकेको पाइएको छ।

तर रुपेन्द्रका परिवारले सुस्मितालाई पाउन बाँकी सबै रकम निकालेर घरमा ससुरालाई दिनुपर्छ भनेर बारम्बार दवाव दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा ४१क बमोजिम क्रुर यातना दिई ज्यान मारेको कसुरमा जीवित रहेसम्म कैद हुने व्यवस्था छ।

डीएसपी रानाका अनुसार सुस्मिताले पछिल्लो केहि समयदेखि आफूप्रति परिवारका सदस्यले गर्ने हर्कतबारे नोट गर्ने गरेको र त्यस्ता गतिबिधिबारे आफ्ना नजिकका मिल्ने साथिहरुसँग समेत बताउने गरेको पाइएको छ।

उनको त्यो नोट समेत फेला पारेको प्रहरीले त्यसलाई पनि अनुसन्धानका लागि आधार बनाइरहेको छ।

परिवारका सदस्यहरुले उनीहरुबिरुद्धकाे किटानी जाहेरी अनुसार नै वयानका क्रममा हत्या स्वीकार गरिसकेको र हालसम्म प्राप्त प्रमाणहरु हेर्दा उनीहरुमाथि हत्या अभियोग पुष्टि हुने प्रहरीले विश्वास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .