ad ad

समाज


आजबाट दैनिक १० हजार परीक्षण गरिने योजना पनि गफैमात्र

आजबाट दैनिक १० हजार परीक्षण गरिने योजना पनि गफैमात्र

नेपालखबर
असार १५, २०७७ सोमबार ७:५१,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसददेखि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा कोरोना परीक्षण तीव्र बनाउने र दैनिक १० हजार बढीको नमूना परीक्षण गरिने बताउँदै आएका थिए।

मन्त्रालयले मन्त्रीको प्रतिवद्धताअनुसार सोमबारबाट गरिने भनिएको दैनिक १० हजार परीक्षण नहुने स्पष्ट पारेको छ। यसबाट असार १५ पछि दैनिक १० हजार नमूना परीक्षण गर्ने भन्ने मन्त्री ढकालको भनाइ गफैमा सीमित भएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले क्वारेन्टिनमा मान्छेहरु पनि घटेको तथा नमूना संकलन पनि कम भएकाले उक्त संख्यामा परीक्षण गर्न आवश्यक नदेखिएको भन्दै मन्त्रीको प्रतिवद्धताको बचाऊ गरे।

‘दश हजार परीक्षण गर्नलाई नमूना नै नआउने भयो। क्वारेन्टिनमा २ लाखबाट मानिसहरु ६० हजारमा झरे,’ उनले भने, ‘अहिलेको अवस्थामा दश हजार परीक्षण पनि आवश्यक पर्दैन। ७–८ हजार परीक्षण भए अहिलेलाई पुग्छ।’

यो पनि: काठमाडौं उपत्यकामा संक्रमित व्यवस्थापनमा के गरिँदैछ? 

सरकारले २३ वटा ल्याबहरुमार्फत दैनिक साढे ६ हजार हाराहारीमा नमूना परीक्षण गर्दै आएको थियो। तर, पछिल्लो दुई दिन भने परीक्षण घटेको छ। असार १० गते ६ हजार ८२८, असार ११ गते ६ हजार ५४३, असार १२ गते ६ हजार ५३४ परीक्षण गरेका ल्याबहरुले असार १३ गते ४ हजार ६०६, असार १४ गते ४ हजार ९६२ नमूनाको मात्रै परीक्षण भएको छ।

प्रवक्ता गौतमले एकदिन शनिबार परेकाले र अर्कादिन नमूना नपूगेर परीक्षण कम भएको तर आगामी दिनमा परीक्षण ६ हजारको हाराहारीमा अघि बढ्ने उनले बताए।

‘नमूना पनि घट्दो छ। कोही ठाउँमा नमूना नभएको र कोही ठाउँमा ज्यादा भएको थियो। हामीले कम भएका ठाउँमा पठाउन सर्कुलर जारी गरिसकेका छौं,’ गौतमले भने।

थपिएका ल्याबको सञ्चालन अनिश्चित
परीक्षण बढाउनका लागि गत असार १० गते बसेको मन्त्रालयको बैठकले थप १० वटा प्रयोगशाला थप्ने निर्णय गरेको थियो। तर, सोमबारसम्म ती प्रयोगशाला सञ्चालनमा आउने अनिश्चित छ।

मन्त्रालयले मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र सैनिक अस्पतालमा पीसीआरयुक्त प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो।

‘दशवटा ल्याबहरु थप्ने स्वीकृति दिएको हो। उनीहरुले तयारी गर्दैछन्,’ गौतमले भने, ‘केहीले प्रक्रिया सुरु गरे होलान केहीले जडान कार्य गर्दैछन्।’

निजी क्षेत्र अनिच्छुक
परीक्षण बढाउन सरकारले निजी क्षेत्रलाई आफूले संकलन गरेका नमूनाहरु दिने निर्णय गरेको थियो। तर, सरकारले एक नमूनाको परीक्षण गरेवापत दिने भनेको ५ हजार ५ सय रुपैयाँ निकै कम भएको भन्दै निजी क्षेत्रले परीक्षणका लागि अनिच्छा देखाएका छन्।

प्रवक्ता गौतमले निजी क्षेत्रको अनिच्छा कै कारण हालसम्म उनीहरुलाई नमूना परीक्षण गर्न दिन नसकिएको जनाए।

‘निजी प्रयोगशालाको अनुगमन भइरहेको छ। कतिले पैसा कम भयो भनिरहेको छ,’ उनले भने, ‘सरकारले एकदम फाइदा हुने गरि धेरै दिन सक्दैन। ५ हजार ५ सय दिँदा उनीहरुलाई ५ सय जति फाइदा मिल्छ होला।’

प्रवक्ता गौतमले ५–७ दिनमा अहिले सञ्चालनमा रहेका ल्याबहरुले नै परीक्षण सक्ने स्थिति आउन लागेकाले सिजी क्षेत्रको आवश्यकता पर्न नसक्ने औल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .