ad ad

समाज


डोटीमा क्वारेन्टिन बनाइएको विद्यालयमा आगलागी

डोटीमा क्वारेन्टिन बनाइएको विद्यालयमा आगलागी

नेपालखबर
असार १२, २०७७ शुक्रबार १४:९,

डोटीको केआईसिंह गाउँपालिका–६ मा रहेको भूमिराज माध्यमिक विद्यालय देवस्थलमा गएराति आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार आगलागीबाट उक्त विद्यालयको कम्तीमा रु १५ लाख बराबरको क्षति भएको छ।

विद्युत चुहावत भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीको अनुमान रहेको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई उक्त विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको छ। क्वारेन्टिनमा बसेकाहरुको सुरक्षाका लागि ड्युटीमा रहेका प्रहरीले आगलागी भएको देखेपछि सबैलाई खबर गरेको सो विद्यालयका शिक्षक यज्ञराज भट्टले जानकारी दिए।

स्थानीयवासी, क्वारेन्टिन बसेका नागरिक तथा प्रहरीसहितको टोलीले झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिएको शिक्षक भट्टले जानकारी दिए। आगलागीबाट विद्यालयको कार्यालय कोठामा रहेको डेस्कटप कम्प्युटर पाँच थान, ल्यापटप एक, फोटोकपि मेशिन दुई, प्रिन्टर एक, ई–हाजिरी मेशिनलगायत मेशिनरी सामान जलेर नष्ट भएका विद्यालयका लेखापाल गणेश भट्टले बताए।

त्यसैगरी आगलागीबाट विद्यालयका काठका बेन्ज, टेबुल, ह्वाइट बोर्ड १०, प्लाष्टिकका कुर्सी ३०, बुक कर्नर एक, रु ५० हजार बराबरका खेलकुदका सामग्री, विद्युत्को मिटर तथा तार, डिजे एक वटा जलेर खरानी भएको छ। लाइब्रेरीका झण्डै रु दुई लाख ५० हजार बराबरका पुस्तक, आगलागी भएको कोठाको झ्याल ढोका पनि जलेर काम नलाग्ने भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .