ad ad

समाज


लकडाउन त खुकुलो भयो, अब कोरोनाबाट चाहिँ कसरी बच्ने?

लकडाउन त खुकुलो भयो, अब कोरोनाबाट चाहिँ कसरी बच्ने?

सागर न्यौपाने
जेठ २९, २०७७ बिहिबार ११:५५,

लकडाउन खुकुलो भएपछि उद्योग–व्यवसाय तथा कार्यालय खुल्न थालेका छन्।

लम्बेतान लकडाउनका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएपछि आम मानिसले मानिसहरुले स्वतःस्फूर्त बजार खोल्न थालेका थिए। त्यसैले बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको थियो। सो निर्णय लगत्तै बिहीबार बिहानैदेखि देशभरका बजार खुलेका छन्।

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम अझ बढ्ने चेतावनी विज्ञहरुले दिएका छन्। त्यसैले सतर्क रहन उनीहरुले आग्रह गरेका छन्।

जनस्वास्थ्य विज्ञ डा. सिद्धि अर्यालले लकडाउन खुकुलो पारेपछि समुदायमा संक्रमण फैलिने जोखिम उच्च भएको बताए। त्यसलाई रोक्न परीक्षणको मात्रा व्यापक रुपमा वृद्धि गर्नुपर्ने उनको भनाइ छ।

‘लकडाउन खुकुलो पारेपछि परीक्षणको दायरा पनि बढाउन सकेनौं भने संक्रमित व्यक्तिबाट समुदायमा झन् संक्रमण फैलिने खतरा बढ्छ,’ डा. अर्यालले नेपालखबरसँग भने, ‘स्थिति सरकारको नियन्त्रणबाहिर जान्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पनि धेरै जनसंख्या भएका ठाउँमा हुने भाीडभाड नियन्त्रण नगरे त्यसले समस्या ल्याउने बताए।

‘सरकारले कसरी लकडाउन खुला गरेको हो, सबै प्रष्ट भइसकेको छैन बजारमा चहलपहल बढिसक्यो। यस्ता अनियन्त्रित तरिकाले हुने आतेजाते बन्द गराउनुपर्छ, नत्र दिन दुई गुणा रात चौगुणाको दरमा संक्रमण फैलिन्छ,’ डा. गौतमले भने।

नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगिसकेको छ। त्यसमध्ये ८ सय ६१ जना निको भएर घर फर्किसकेका छन्।

सरकारले अहिलेसम्म परीक्षण बढाउनै सकेको छैन। अहिलेपनि दैनिक ४ हजारको हाराहारीमा मात्र परीक्षण भइरहेको छ। बुधबार ४ हजार ४ सयको परीक्षण गरिएको थियो।

शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल टेकुका प्रवक्ता अनुप बास्ताेलाले लकडाउन खुकुलो पारेपछि परीक्षणको दायरा निकै बढाउनुपर्ने बताए।

लकडाउन खुकुलो भएपछि सबैतिर मानिसहरुको चहलपहल र घुलमिल हुने र यसलाई व्यवस्थित नगरे जोखिम बढ्ने उनको भनाइ छ।

‘अहिलेसम्म काठमाडौं उपत्यकामा घरबेटीले नै निगरानी गरेका कारण यहाँ संक्रमित ठाउँबाट आएकाहरु भित्रिएका छैनन्, अब रोगग्रस्त ठाउँबाट घुलमिल हुन थाल्यो भने संक्रमण बढ्छ,’ डा. बास्ताेलाले भने।

रोगग्रस्त ठाउँका मानिसहरु क्वारेन्टिनमा नबसी सबैतिर हिँडडुल गर्न थाले भने चुनौती झन् थपिने उनले बताए।

‘१४ दिन क्वारेन्टिनमा बस्छन् कि बस्दैनन्, बजार, कार्यालयमा दूरी कायम हुन्छ कि हुँदैन, मास्क र स्यानिटाइजर प्रयोग हुन्छ कि हुँदैन, यी नै आगामी चुनौती हुन्,’ उनले थपे।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारको क्षमताभन्दा बढी नेपाली भारतबाट भित्रिएकाले परीक्षण कम भएको बताएका थिए।

‘हामीसँग रहेको स्रोत र साधनअनुसार दैनिक क्षमता ५ हजार भन्दा बढी छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘दैनिक नेपाल भित्रिने संख्या १० हजार छ, अनि कसरी व्यवस्थित गर्न सकिन्छ?’

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी सरकारले लकडाउन खुकुलो पारेसँगै सबैतिरका मानिसहरुको आउजाउ हुने र त्यसले संक्रमण नपुगेको ठाउँमा समेत देखिन सक्ने खतरा औँल्याउँछन्।

डा. अधिकारीले लकडाउनमा सबै क्षेत्रलाई खोल्न नहुने र संक्रमित क्षेत्रका मानिसहरु कतै गएका छन् भने परीक्षण गरेर मात्र प्रवेश दिँदा संक्रमण फैलन खतरा कम हुने बताए।

पछिल्लो समय नेपालको प्रदेश २, ५ सहित कर्णाली र सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

‘लकडाउन खुकुलो पारेपनि संक्रमणग्रस्त क्षेत्र, कम संक्रमित क्षेत्र र संक्रमण नपुगेको क्षेत्र भनेर छुट्याउनुपर्छ,’ डा. अधिकारीले भने, ‘संक्रमित क्षेत्रबाट जाने मानिसको परीक्षण गरिनुपर्छ नत्र ठूलो जोखिम हुन्छ।’

देशभर एउटै सूत्रले लकडाउन खुकुलो पार्न नहुने उनको सुझाव छ।

‘मुलुकका सबै भूभागलाई एकैपटक, एउटै विधिले खुकुलो पार्न हुँदैन, ठाउँ र आवश्यकताअनुसार खुकुलो पार्नुपर्छ’, उनले भने।

त्यसो त लकडाउन खुकुलो भएपनि अनुशासन पालना गरेदेखि कोरोना संक्रमण भइहाल्ने खतरा कम हुने विज्ञहरुको भनाइ छ।

‘नियमित रुपमा साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने, भीडमा जाँदै नजाने, कार्यालयमा काम गर्दा पनि दूरी राख्ने हो भने कोरोना सरिहाल्दैन,’ डा. बास्ताेलाले भने।

घरमा दीर्घ रोगी र ७० कटेका व्यक्तिहरु भए उनीहरुको छेउमा नजान डा. अधिकारीले सुझाव दिए।

‘अब सरकारको मात्रै मुख ताक्ने होइन, हामी पनि सचेत बनौं, ६५ देखि ७० कटेका व्यक्तिहरुलाई घरकै आइसोलेसनमा राखौं, बाहिरबाट गएर सीधै नछोऊँ,’ डा. अधिकारीले भने, ‘हामीले अरुको नभएपनि परिवारको जिम्मेवारी लिऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .