ad ad

समाज


विदेशमा रोकिएका शव ल्याउन थालियाे, डिसइन्फेक्ट गरेर घरै पुर्‍याइने

विदेशमा रोकिएका शव ल्याउन थालियाे, डिसइन्फेक्ट गरेर घरै पुर्‍याइने

उजिर कार्की
जेठ २३, २०७७ शुक्रबार १५:५०,

झण्डै तीन महिनादेखि विदेशमा रोकिएका नेपालीका शव ल्याउन थालिएको छ।

शुक्रबारदेखि चार्टर्ड उडानबाट नेपालीलाई फर्काउन थालिएसँगै शव पनि ल्याउन थालिएको हो। शुक्रबार एउटा शव यूएईबाट ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

शुक्रबार चार्टर्ड उडानमा १ सय ६८ जना नेपाली फर्किएका थिए। सोही जहाजमा इलामको साखेजुङ नगरपालिका १ का २९ वर्षीय राजु पन्चकोटीको शव आएको हो। एक वर्ष पहिले रोजगारीका लागि यूएई गएका उनले वैशाख ९ गते आत्महत्या गरेको आफन्तले बताएका छन्। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव ल्याउन सकिएको थिएन।

मृतक पन्चकोटीकी श्रीमती पनि यूएई मै छिन्। यति बेला फर्किन नमिलेकाले उनी आउन नसकेको उनका आफन्त गोपाल नेपाली कार्कीले बताए।

मृतककी ९ वर्षीया छोरी छिन्। पन्चकोटी शव शुक्रबार नै इलामतर्फ पठाइएको बोर्डले जनाएको छ।

उडान बन्द हुँदा १ सय ५३ वटा शव विदेशमा रोकिएका छन्। यूएईमा अझै १३ वटा शव रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। शव ल्याउन ढिलाइ हुने भएपछि ८५ जनाका परिवारले भने विदेशमै शव अन्त्येष्टि गरिदिन अनुमति दिएका छन्।

रोकिएका शव ल्याउन वैदेशिक रोजगार बोर्डले ताकेता गरिरहेको कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए। हरेक उडानमा दुई वटा शव ल्याउने भनिएको छ।

सरकारले नेपालीको उद्धार गर्न दैनिक १० वटा उडान गर्ने जनाएपछि बोर्डले समेत त्यही अनुसार तयारी गरेको छ। दैनिक २० वटासम्म शव ल्याउने व्यवस्था गरिएको श्रेष्ठले बताए।

शव घरसम्म पुर्‍याउने चालकलाई पीपीई र शवलाई संक्रमणरहित बनाउने व्यवस्था गरिएको छ। विदेशमा ज्यान गुमाएका नेपालीको शव बोर्डले घरसम्म निशुल्क ढुवानी गरिदिन्छ।

मलेसिया, साउदी र कतारमा अझै ठूलो संख्यामा शव रोकिएका छन्। शुक्रबार बोर्डले तयार गरेको तथ्यांक अनुसार मलेसियामा ४७, साउदीमा ४५ र कतारमा २७ वटा शव छन्। यस्तै कुवेतमा ११, बहराइनमा ५, ओमानमा एउटा शव रोकिएको छ। अन्य देशमा ४ वटा शव ल्याउन बाँकी छ।

कोरोना संक्रमणका कारण ज्यान गएका बाहेक शव सरकारले ल्याउने व्यवस्था गर्छ। तर अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव ल्याउन नसकिने भएपछि उतै अन्त्येष्टि गर्न सरकारले मृतकका परिवारसँग सहमति मागेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .