म्यानमारबाट शुक्रबार बिहान काठमाडौं आएका ९ जना होल्डिङ सेन्टरबाट घर फर्किएका छन्।
उनीहरुको सम्पर्क विवरण लिएर घर पठाइएको नेपाली सेनाले जनाएको छ। उनीहरुको यसअघि नै पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएकाहरु हुन्। उनीहरु अब आफ्नै घरमा छुट्टै (होम क्वारेन्टिनमा) बस्नेछन्।
घर फर्किने ९ जना वागमती र गण्डकी प्रदेशका हुन्।
बेलुकासम्ममा अरु पनि होल्डिङ सेन्टरबाट घर जानेछन्। उनीहरुको विवरण लिने काम सेनाले गरिरहेको छ।
विदेशबाट ल्याइएका नेपाली नागरिकलाई उनीहरुको घर पठाउनुभन्दा पहिले राख्नका लागि काठमाडौंमा उपत्यकामा ८ वटा यस्ता होल्डिङ सेन्टर बनाइएको छ।
म्यानमारबाट गण्डकी प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश नं १ का ४ र प्रदेश नं ५ का १ जना छन् । उनीहरु सबैलाई स्काइजोन पार्टी प्यालेस होल्डिङ सेन्टर बनाएर राखिएको थियो।
प्रदेश अनुसार छुट्टाछुट्टै राख्ने भए पनि म्यानमारबाट थोरै संख्यामा आएकाले विवरण लिन तथा घर पठाउन सहज होस् भनेर एकै ठाउँमा राखिएको थियो।
आजै संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि नेपालीहरु आउँदैछन्। उनीहरुलाई भने प्रदेशअनुसारका छुट्टा छुट्टै होल्डिङ सेन्टरमा राखिने छ।
प्रतिक्रिया