ad ad

समाज


विदेशबाट आउनेलाई विमानस्थलदेखि घरसम्म पुर्‍याउने जिम्मा सेनालाई

विदेशबाट आउनेलाई विमानस्थलदेखि घरसम्म पुर्‍याउने जिम्मा सेनालाई

उजिर कार्की
जेठ १९, २०७७ सोमबार १४:१,

सरकारले विदेशबाट फर्केका नागरिकलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टर र त्यहाँबाट सम्बन्धित जिल्लासम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई दिइएको हो।

यसका लागि आवश्यकता अनुसार सेनालाई ब्यारेक बाहिर निस्कन सुरक्षा परिषदले बाटो खोलिसकेको छ। सेनाले यसअघि देखि नै कोरोना संक्रमणसँग सम्बन्धित जोखिम व्यवस्थापनको काम गरिरहेको भएपनि यसरी छुट्टै जिम्मा दिइएको थिएन।

सरकारले विदेशबाट नागरिक फर्काउने तयारी अन्तिम चरणमा पुर्‍याएसँगै सेनालाई थप जिम्मेवारी दिइएको हो। विदेशस्थित नेपाली दूतावास मार्फत फर्किनेहरुको विवरण संकलन भइरहेको छ।

भारतबाट नेपालीलाई फर्काउन २० वटा नाका तोकिसकिएको छ। अन्य देशबाट नागरिक फर्काउन प्राथमिकता पनि तोकिएको छ। उनीहरुलाई फर्काउने र जोखिम बढ्न नदिने गरी व्यवस्था गर्न सरकारले जिम्मेवारी समेत बाँडफाँट गरेको छ।

जसअनुसार फर्किएका नेपालीलाई आआफ्नो स्थानीय तहको क्वारेन्टिनसम्म पुर्‍याउने काम सेनाले गर्ने भएको हो। यसका लागि सेनाले विभिन्न निकायसँग समन्वय गर्नुपर्ने छ।

भारतबाट आउनेका लागि तोकिएका नाका नजिकै होल्डिङ सेन्टर बनाइने छ। सामुदायिक विद्यालय, सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुल्ला ठाउँमा होल्डिङ सेन्टर तयार गरिने छ।

भारतबाहेक अन्य देशबाट आउनेका लागि काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा होल्डिङ सेन्टरको व्यवस्था गरिने छ। कहाँकहाँ होल्डिङ सेन्टर बनाउने भन्ने नेपाली सेना अथवा कोरोना संकट व्यवस्थापन केन्द्रको सहयोगमा स्थानीय प्रशासनले तोक्ने छ।

भारतबाट आउनेलाई होल्डिङ सेन्टरमै सवारीको व्यवस्थापन गरिनेछ। होल्डिङ सेन्टरमा ज्वरो परीक्षणपछि स्वस्थलाई जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था नेपाली सेनाको संयोजकत्वमा हुने भएको छ।

१००.४ माथि ज्वरो देखिएकालाई आइसोलेसनमा लैजाने जिम्मा पनि सेनालाई नै दिइएको छ।

सीमामा प्रदेश सरकारसँगको समन्वयमा सेनाले काम गर्नेछ भने अन्य मुलुकबाट फर्किनेलाई जिल्ला नलैजाउन्जेल राख्न काठमाडौंमा बनाइने होल्डिङ सेन्टरको व्यवस्थापन पनि स्थानीय प्रसाशनको सहयोगमा सेनाले नै गर्ने भएको छ।

सेनाले सम्बन्धित जिल्लामा पुर्‍याएपछि स्थानीय तहको जिम्मा लगाउने छ। उनीहरुलाई क्वारेन्टिनमा बस्दा खाना वापत केन्द्रीय सरकारले दैनिक १ सय ७५ रुपैयाँका दरले बढीमा १४ दिनको खर्च सरकारले उपलब्ध गराउने छ।

भारतीय सीमानाकाबाट आउनेलाई क्वारेन्टिनसम्म पुर्‍याउन यातायातको व्यवस्था प्रदेश सरकारले र अन्य देशबाट आउनेलाई विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म जाने यातायातको व्यवस्था सीसीएमसीले गर्नेछ।

होल्डिङ सेन्टरबाट लैजानका लागि भने सम्बन्धित प्रदेशले नै यातायातको व्यवस्था गर्नेछ। विदेशबाट फर्किनेलाई राख्न मापदण्ड अनुसारका क्वारेन्टिन तयार गर्नु पर्नेछ।

तर ती क्वारेन्टिन सञ्चालन, निर्देशन र परिचालन भने नेपाली सेनाले नै गर्ने कार्ययोजनामा उल्लेख छ।

यस्तै आफ्नै खर्चमा होटलमा बस्छु भन्नेहरुका लागि होटलको व्यवस्था पर्यटन मन्त्रालय र नेपाली सेनाको समन्वयमा स्थानीय प्रशासनले गर्नेछन्।

सरकारले तोके अनुसार क्वारेन्टिनमा बसिसकेपछि कोरोना परीक्षण गरिने छ। रिपोर्ट नेगेटिभ आएपछि पनि निश्चित समयका लागि होम क्वारेन्टिनमा बस्नु पर्ने छ।

यसअघि सुरक्षा परिषद्बाट निर्णय नभएपनि जोखिम देखिएका क्षेत्रमा सेना परिचालन गरिएको थियो। ती क्षेत्रमा निषेधाज्ञा गरेर सेना खटाइएको थियो।

यस्तै अन्य ठाउँमा पनि सीसीएमसी मार्फत सेनाले कोरोना संकट व्यवस्थापनमा खटिएको थियो।

स्वाब संकलन, स्वास्थ्य सामग्री ढुवानीसँगै अन्य सुरक्षा निकायलाई समेत जोखिम व्यवस्थापनका बारेमा सेनाले तालिम दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

लकडाउन कार्यन्वयनमा समेत ७ हजार ५ सय ८५ जना सैनीक परिचालन गरिएको छ।

यस्तै ४४ वटा स्थानमा क्वारेन्टिन, इलाम र संखुवासभामा आइसोलेसन तयार गर्न सेनाले सहयोग गरेको थियो। कोरोनाका कारण ज्यान गुमाएकाको शव व्यवस्थापन पनि नेपाली सेनाले नै गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .