ad ad

समाज


भारतबाट आएका बागलुङका ८२८ जना क्वारेन्टिनमा

भारतबाट आएका बागलुङका ८२८ जना क्वारेन्टिनमा

नेपालखबर
जेठ १७, २०७७ शनिबार १०:३१,

भारतबाट आएका ८२८ जनालाई क्वारेन्टिनमा राखिएको छ। भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टिनमा राखिएको हो।

गएको साता भारतबाट जिल्ला भित्रिएका ८२८ जनालाई यहाँस्थित ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी २५९ व्यक्तिलाई राखिएको छ भने सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ।

यसैगरी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा १७३, निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा १४४, बागलुङ नगरपालिकाको क्वारेन्टिनमा ४३, काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा ३८, बरेङ गाउँपालिकाको क्वारेन्टिनमा ३८, ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा ४२, जैमिनी नगरपालिकाको क्वारेन्टिनमा २४ र गलकोट नगरपालिकाको क्वारेन्टिनमा ५५ जना छन्।

गत बुधबार क्वारेन्टिनमै रहेका तमानखोलाका चार र बडिगाडका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। क्वारेन्टिनमा बसेको पाँच दिन पुगेपछि थप व्यक्तिको कारोना जाँचका लागि स्वाब संकलन गरिएको छ। बडिगाडका ३१ जनाको स्वाब पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ।

निसीखोलाका ३८, जैमिनीका ६ र बागलुङ नगरपालिकाका पाँच जनाको स्वाब जाँचका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। तमानखोला र बडिगाडका संक्रमितको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्ने कामसमेत सुरु भएको उनको भनाइ छ। ‘क्वारेन्टिन व्यवस्थापन र पीसीआर परीक्षणमै बढी केन्द्रित छौँ’, प्रमुख गुरौले भने, ‘भारतबाट आउने क्रम बढेसँगै संक्रमण बढ्ने जोखिम छ।’ भारतबाट आउनेको संख्या दिनानुदिन बढिरहेको छ।

बडिगाड गाउँपालिकामा मात्र ५०० जनाभन्दा बढी भारतबाट आउने आकलन गरिएको छ। तेस्रो मुलुकमा रहेका नागरिक पनि आउन थाले त्यो सङ्ख्या झनै बढ्नेछ। स्थानीय तहका लागि क्वारेन्टिन विस्तारसँगै गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको छ। बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताए। बडिगाडका क्वारेन्टिनमा रहेकामध्ये जम्मा आठजनामा गरिएको जाँचमा दुई जना संक्रमित भेटिएका थिए।

‘भारतबाट आउनेको संख्या दैनिक बढेको छ, बडिगाड कोरोनाको उच्च जोखिममा छ’, अध्यक्ष पाइजाले भने। ५६ दिनपछि बुुधबार जिल्लामा ६ जना नयाँ संक्रमित फेला परेका हुन्। त्यसअघि गत चैत १५ र २० गते भेटिएका दुई संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्। उनीहरु दुवैजना चैत ४ मा बेल्जियमबाट आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .