ad ad

समाज


प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या ४ सय पुग्यो

प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या ४ सय पुग्यो

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ७:२३,

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ४ सय पुगेको छ।

बिहीबार (आज) बिहान ९ बजे थप ७६ जनामा संक्रमण पुष्टि भएपछि सो संख्या पुगेको हो। यसअघि बुधबारसम्म ३२४ मा संक्रमण पुष्टि भएको थियो।

गत मंगलबारसम्म यो संख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। पछिल्लोपटक संक्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी संक्रमित रौतहटमा ११२ पुगेका छन्। त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा संक्रमणको पुष्टि भएको छ।

अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ। भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको संख्या ह्वात्तै बढेको हो। प्रदेशमा संक्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउछन्।

प्रदेशमा पीसीआर परीक्षणका लागि स्वाब संकलन कार्य तीव्र बनाइएको छ। बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब संकलन गरिएको छ। प्रदेशभित्र १० हजार ५८९ को स्वाब संकलन भएको निर्देशनालयले जनाएको छ। यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब संकलन अन्य प्रदेशमा भएको जनाइएको छ। प्रदेशका आठै जिल्लाका क्वारेन्टिन केन्द्रमा आज पनि स्वाब संकलन गरिँदैछ।

स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ। प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले जानकारी दिए।

प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टिन केन्द्र बनाइएका छन्। सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टिन केन्द्र थपिएका हुन्। यसअघि १८१ केन्द्र सञ्चालित थिए। अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ शय्या छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टिनमा चार हजार ९०३ रहेका उनले बताए।

त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन श्यया तयार छन्। अहिले १८९ जना शंकास्पद आइसोलेसनमा छन्। प्रदेशमा संक्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन्। प्रदेशमा बढ्दै गएको संक्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ।

क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पीसीआर परीक्षण सघन हुनसकेको छैन। यो परीक्षणका लागि स्वाब संकलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ। निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .