ad ad

समाज


गड्डाचौकी नाकाबाट घर फर्किनेको लर्को, ५ घण्टामा १५ सय बढीले पाए प्रवेश

गड्डाचौकी नाकाबाट घर फर्किनेको लर्को, ५ घण्टामा १५ सय बढीले पाए प्रवेश

गोकुल जोशी
जेठ १२, २०७७ सोमबार १३:३०,

पश्चिमी सीमा नाका गड्डाचौकीबाट स्वदेश फर्किने नेपाली मजदुरको घुँइचो लागेको छ। भारतमा अलपत्र नेपाली नागरिकलाई स्वदेश भित्र्याउन सोमबारदेखि खुला गरिएको गड्डाचौकी नाकामा स्वदेश भित्रिनेको भीड लागेको छ।

सोमबार मध्याह्न १२ बजेदेखि खोलिएको नाकाबाट साँझ ५ बजेसम्म १५ सय भन्दा बढी नागरिकलाई प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णराज जोशीले बताए। लकडाउनका कारण भारतमा रोकिएका नेपाली नागरिकलाई गड्डाचौकी नाकाबाट प्रवेश दिइने भए पछि हजारौँ नागरिक दशगजा क्षेत्र पुगेका छन्।

‘डडेल्धुरा, दैलेख, कालिकोट र डोटीका ६ सय मानिसलाई १५ वटा बसको व्यवस्था गरेर सम्बन्धित पालिका पठाइएको छ। नाका प्रवेश गराउने क्रम जारी छ, धेरै मानिस पुगेका छन्’ सूचना अधिकारी जोशीले भने।

नाका खुलेको सूचना पछि पश्चिमी नाका गड्डाचौकीमा नेपाल फर्किनेको भीड नै पुगे पछि भोलि पनि नाका खुल्ने उनले संकेत गरे। तर गड्डाचौकी नाकाबाट भित्रिएकाहरुको कोरोना परीक्षण भने गर्न नसकिएको सूचना अधिकारी जोशीले बताए। ज्वरो नापेकै भरमा १५ सय बढीलाई नाका प्रवेश गराइएको हो।

यसरी भित्र्याइँदैछ नाकाबाट
स्वदेश फर्कने नेपालीलाई व्यवस्थित ढंगले भित्र्याउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विभिन्न चरण र प्रक्रिया पु-याएको छ। भारतबाट आएका नेपालीहरूले सबभन्दा पहिले कहाँबाट आएको, के काम गरेको, कहिलेदेखि बसेको लगायत विवरण समेटिएको व्यक्तिगत विवरण सहितको फाराम भर्नु पर्छ। फाराम बोकेर नेपालीहरू लाइनमा बस्नु पर्छ। त्यसबेला उनीहरुलाई १ बोत्तल पानी, मास्क, १ पुरिया बिस्कुट दिइएको छ। त्यसपछि हेल्थ डेस्कमा सामान्य स्वास्थ्य परीक्षण पछि मात्रै स्वदेशमा पाइला टेक्न दिइएको छ।

सामान्य स्वास्थ्य परीक्षणपछि सुदूरपश्चिम प्रदेश र अन्य प्रदेशका गरी २ भागमा विभाजन गरिन्छ। त्यसैअनुसार प्रवेश चाहनेहरूको तथ्यांक कम्युटरमा इन्ट्री गरिएको प्रशासनले जनाएको छ। उनीहरुको लागि खानपिनको व्यवस्थापन समेत गरिएको छ। सम्बन्धित ठाउँमा पठाउन बाँकी रहेका मानिसलाई महेन्द्रनगरस्थित क्वारेन्टिनमा राखिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .