ad ad

समाज


कोरोना संक्रमितको दाह संस्कार गरेको नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा

कोरोना संक्रमितको दाह संस्कार गरेको नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा

नेपालखबर
जेठ ११, २०७७ आइतबार ९:२७,

कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो। विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो। यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्न भएपछि सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

सो परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। गृह चलाउन तताउन शुरु गरिसकिएको पनि उनले बताए।

शवदाहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्तमात्रामा भएको भए ३६ घण्टापछि नै सञ्चालनमा ल्याउन सकिने थियो। सुरक्षाका कारण कोरोना संक्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ। विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ।

कोरोना संक्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ। जम्मा ६ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन्। कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पीसीआर परीक्षण गर्नुपर्छ। कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदै। अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ।

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन्। जनशक्ति व्यवस्थापनका विषयमा पूर्व तयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ।

क्रियापुत्री घर सञ्चालनमा
सरसफाइका लागि एक हप्तासम्म बन्द रहेको पशुपतिको क्रियापुत्री घर पनि आजैदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताए। १३ दिनसम्म क्रियापुत्री बसिसकेपछि सफाइका लागि क्रियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ। क्रियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको संक्रमण नफैलियोस् भनी सजगता अपनाइएको कोषले जनाएको छ।

पशुपति क्षेत्रमा काज क्रिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ। पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहीँको क्रियापुत्री घर पर्ने गरेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .