ad ad

समाज


नरैनापुरका फरार संक्रमित पक्राउ, स्थानीयको असहयोगले सुरक्षाकर्मी समस्यामा

नरैनापुरका फरार संक्रमित पक्राउ, स्थानीयको असहयोगले सुरक्षाकर्मी समस्यामा

नेपालखबर
जेठ १०, २०७७ शनिबार ३:२१,

बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक कोरोना संक्रमितलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ।

नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शंकरनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएका एक संक्रमित गए राति फरार भएका थिए। उनलाई शनिबार बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

सङ्क्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए।

बाह्र सङ्क्रमितलाई गए राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार सङ्क्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

स्थानीयवासी र अन्य सरोकारवालाले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक अवरोध देखिए पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको वलीले बताए।

नरैनापुरको अर्को विद्यालयमा रहेका क्वारेन्टिनमा एकसहित शुक्रबार मात्रै नरैनापुरमा १३ र राप्तीसोनारीमा एक गरी बाँकेमा १४ सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

कोरोना महामारीको कठिन परिस्थितिमा स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालक जोखिममा परेर सङ्क्रमित पत्ता लगाउँदै व्यवस्थापन गर्न खोज्दा सबैको साथ नपाउनु चिन्ताको विषय भएको वलीले बताए।

सदरमुकाम नेपालगञ्जबाट करबी ३५ किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरमा मात्रै ८७ सङ्क्रमित फेला परेका छन्।

कोरोना विजेतालाई गाउँमा स्वागत
२१ सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किँदा नेपालगञ्जको जोलाहनपूर्वा टोलमा खुशियाली छाएको छ।

बाइसौँ दिनमा कोरोना परास्त गरी खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट शुक्रबार घर पुग्दा जोलाहनपूर्वावासीले हर्षका साथ स्वागत सम्मान गरेका थिए।

टोलका सबैजना एकसाथ घर फर्किँदा टोलवासीमा कोरोनाको त्रास हटेर खुशीको वातावरण सिर्जना भएको नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख समसुद्दिन सिद्दिकीले बताए।

एकैसाथ धेरै सङ्क्रमित हुँदा निराश र त्रासमा रहेका घरपरिवार र टोलवासी बिरामी निको भएर घर फर्किँदा रमजान पर्वको पूर्वसन्ध्यामा खुशी साटासाटसमेत गर्ने वातावरण बनेको उनको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .