कोरोना भाइरसबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खाइरहेकाे मलेरियाको औषधिले उल्टो मृत्युको जोखिम बढाउने अनुसन्धानले देखाएको छ।
विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेकाे अध्ययनले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लगाएकाे हाे।
चिकित्सकले यो औषधि सेवन गर्नु घातक हुने चेतावनी दिँदादिँदै पनि कोरोना रोक्न यो उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफूले खाइरहेको केही दिनअघि बताएका थिए।
याे पनि: ट्रम्पले भनेः यसकारण मैले मलेरियाको औषधि खान सुरु गरेको हुँ
लान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएकाे छ: अध्ययनबाट के पत्ता लागेको छ भने काेराेना संक्रमितलाई मलेरियाकाे उक्त औषधिबाट फाइदा नभएकाे पाइयाे। बरु यसले उल्टाे मृत्युकाे जाेखिम बढाउने पाइयाे।
हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका बिरामीका लागि उपयाेगी तथा लुपुस वा जोर्नी शोथका केही समस्यामा पनि लाभदायक रहेकाे तर कोरोना संक्रमितका लागि यस औषधिले फाइदा पुर्याउन कुनै अनुसन्धानले नदेखाएकाे यस अघिदेखि नै विज्ञले बताइरहेका छन्।
लान्सेटले अध्ययनमा ९६ हजार कोरोना संक्रमित बिरामीलाई सामेल गराइएको थियो। तीमध्ये १५ हजार बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विन तथा यसैसँग मिल्दाेजुल्दाे क्लोरोक्विन सेवन गराइएकाे थियाे।
तर हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विन खुवाइएका काेराेनाका बिरामीमा मुटुका समस्या बढेर झन् मृत्युकाे जाेखिम बढेकाे पाइएकाे लान्सेटकाे अध्ययनमा उल्लेख छ।
अनुसन्धान प्रतिवेदनअनुसार हाइड्रोक्सिक्लोरोक्विन दिइएका कोभिड-१९ का बिरामीको मृत्युदर १८ प्रतिशत, क्लोरोक्विन दिइएका बिरामीको मृत्युदर १६.४ प्रतिशत तथा अरु समूहका बिरामीको मृत्युदर ९ प्रतिशत पाइएकाे हाे।
एन्टिबडीसहित हाइड्रोक्सिक्लोरोक्विन वा क्लोरोक्विन दिएर उपचार गरिएका बिरामीको मृत्युदर अझ बढी देखिएको छ। तसर्थ हाइड्रोक्सिक्लोरोक्विन प्रयोग नगर्न अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।
Shares
प्रतिक्रिया