ad ad

समाज


उपत्यका प्रवेशका सबै नाका सिल गर्न काठमाडौं महानगरको आग्रह

उपत्यका प्रवेशका सबै नाका सिल गर्न काठमाडौं महानगरको आग्रह

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ८:४८,

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न सरकारसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग नाका सिल गर्न आग्रह गरेको हो।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको छ ।’

त्यसैगरी लकडानउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

 कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डंगोलले जानकारी दिए।

कोभिड १९ को संक्रमण वढ्दै गएको र यसको लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रलायलाई अनुरोध गर्ने, लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसल वाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने जस्ता निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .