कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना आज (शुक्रबार) डिस्चार्ज हुँदैछन्।
उनीहरुको दुई पटकसम्म स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। डिस्चार्ज हुनेमा ७ नेपाली र एक जना भारतीय नागरिक छन्।
उनीहरु सबै उदयपुरमा फेला परेका संक्रमित हुन्। ९ वैशाखमा उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको थियो।
अस्पताल भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा बिहीबार ८ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएका छ।
यसअघि गएको बुधबार ६ जना भारतीय नागरिक पनि कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए। प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना मात्रै कोशी अस्पतालमा रहनेछन्।
आज डिस्चार्ज हुन लागेका ८ जनासँगै भर्ना भएका ७ जनाको रिपोर्ट भने पोजिटिभ आएको छ। रिपोर्ट पोजिटिभ आएकालाई भने चिकित्सकको निगरानीमा थप उपचार जारी राखिने कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन्।
प्रतिक्रिया