ad ad

राजनीति


आज दिउँसो बजेट अधिवेशन सुरु हुँदै, त्यसअघि सांसदहरू कोरोना अग्निपरीक्षामा

आज दिउँसो बजेट अधिवेशन सुरु हुँदै, त्यसअघि सांसदहरू कोरोना अग्निपरीक्षामा

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ३:५५,

संघीय संसद बर्खे (बजेट) अधिवेशन आज (शुक्रबार) दिउँसाे सुरु हुँदै छ। तर त्यसअघि संसदका सबै सांसद र कर्मचारीले आफूमा कोरोना भाइरस नरहेको प्रमाण पेस गर्नुपर्नेछ।

त्यसका लागि अहिले उनीहरूको स्वाब प्रयोगशालामा धमाधम परीक्षण भइरहेको छ।

संसद सचिवालयका अनुसार अधिवेशन दिउँसो ४ बजे सुरु गर्ने तयारी छ। तसर्थ त्यसअघि नै दिउँसो साढे ३ बजेसम्म सबैको रिपोर्ट आउने गरी प्रयोगशालामा स्वाब परीक्षण भइरहेको छ।

सचिवालय स्रोतका अनुसार हिजो (बिहीबार) साँझसम्म दुवै सदनका सांसद तथा कर्मचारी गरी ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ। २ सय १२ सांसद र २ सय २९ संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको हो।

प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५८ सांसद छन्। बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज बिहान ८ बजेदेखि स्वाब संकलन भइरहेको संसद सचिवालयले जनाएको छ।

अहिले बिहान साढे १० बजेसम्म सबैको स्वाब संकलन गरी प्रयोगशाला पठाइने र सबैको नतिजा साढे ३ बजेभित्र आउने गरी व्यवस्था मिलाइएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ।

कसैमा कोरोना भाइरस पोजिटिभ देखिए ऊ संसद भवनभित्र छिर्न पाउने छैन।

यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची छ।

सुरुमा अधिवेशन प्रारम्भसम्बन्धी तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची बनाइएको छ।

यसपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले मन्तव्य दिनेलगायत कार्यतालिका छ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यतालिका छ। यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले  बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

याे पनि: 

संसदको बैठक अवधिभर सांसद घरमा एकान्तवास बस्नुपर्ने, यस्ताे छ ७ बुँदे आचारसंहिता

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .