ad ad

समाज


दैनिक ३ सय जनालाई खाना खुवाउँदै तारकेश्वर युवा क्लब

दैनिक ३ सय जनालाई खाना खुवाउँदै तारकेश्वर युवा क्लब

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ९:३६,

महामारीको संकटका कारण लकडाउन भइरहँदा विभिन्न संघ/संस्थाले सहयोगी हात अघि बढाउने क्रम पनि बढेको छ।

एक्कासि लकडाउन भएसँगै धेरै जनाले रोजगारी त गुमाए नै, खाने र बस्नकै समस्या हुन थाल्यो। प्रायः दैनिक ज्यालादारीको काम गर्ने मजदुरलाई समस्या भयो। कति पैदलै घर फर्किए, कति भोकै बस्न बाध्य भए।

तिनै दुःख र बाध्यतामा परेकाहरुलाई काठमाडौंका विभिन्न संघ/संस्था, क्लबलगायतले खाना खुवाउँदै आएका छन्।

सोही संस्थाहरुमध्ये एक हो तारकेश्वर युवा क्लब। नागार्जुन १० मा रहेको क्लबले दैनिक खान समस्या भएकाहरुलाई विगत दुई हप्तादेखि खाना खुवाइरहेको छ।

‘अहिले हामीले दैनिक ३ सय जनालाई खाना खुवाउने काम गरिरहेका छौं’, क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले भने, ‘आइतबारसम्म १३ दिन भयो।’

३०–३२ जना रहेको क्लबले दैनिक बिहानको समयमा खाना खुवाउने काम गरिरहेको छ। जसमा स्थानीयहरुले सहयोग गरिरहेका छन्।

‘कुनै नगर वा वडाबाट बजेट ल्याएका छैनौं र क्लब र स्थानीयको सहयोगमा खाना खुवाइरहेका छौं’, अध्यक्ष बुढाथोकीले भने, ‘हामीलाई कसैले चामल ल्याइदिने कसैले दाल, तरकारी ल्याइदिने गर्नुहुन्छ।’

क्लबले आइतबारसम्म २७ सय बढीलाई खान खुवाइसकेको छ। स्थानीयहरुबाट नगद करिब २ लाख उठेको छ भने स्टकमा करिब ३० बोरा चामल रहेको छ।

क्लबले लकडाउन सुरु भएसँगै जनचेतनाका कार्यक्रम पनि गरेको थियो।

‘कोरोना संक्रमण फैलिने डरले लकडाउन हुँदा घरबाहिर ननिस्कनु, नगरपालिकाले तोकेको समयभन्दा अन्य समयमा पसल नखोल्नु भनेर चेतना जगाउने काम गर्यौँ’, बुढाथोकीले भने।

त्यस्तै क्लबले संक्रमण नियन्त्रणको लागि डिस्इन्फेक्स स्प्रे समेत गरेको थियो।

‘पसल खुल्ने समयमा पनि चोक चोकमा स्वयंसेवकमार्फत सामाजिक दूरी कायम राख्नेबारे जानकारी गरायौं। त्योसँगै घर–घरमा डिस्इन्फेक्सन (किटनाशक) स्प्रे गर्ने काम गर्यौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .