वीरगन्जस्थित प्रदेशिक अस्पतालमा उपचार गराइरहेका पाँचजना कोरोना संक्रमितमध्ये चार जना निको भएका छन्।
पाँच जनामध्ये चार जनाको लगातार दोस्रो पटक परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ।
यसरी परीक्षण नेगेटिभ आउने चार जनामा तीन भारतीय नागरिक र एकजना नेपाली हुन्। सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले दुई वटा परीक्षण लगातार नेगेटिभ आएपछि डिस्चार्जको तयारी भैरहेको बताए।
‘यस अस्पतालमा उपचार गराइरहेका चार संक्रमितको लगातार दोस्रो पीसीआर परीक्षण नेगेटिभ आएको छ,’ उपाध्यायले नेपालखबरसँग भने, ‘जसमा तीन जना भारतीय र एक नेपाली हुनुहुन्छ। उहाँहरुलाई भोली फस्ट आवरमै डिस्चार्ज गर्नेछौं।’
कोरोना संक्रमितमा सो रोगका लक्षण देखिन छाडेपछि २४ घण्टाको अन्तरमा पीसीआर बिधिबाट परीक्षण गर्दा नेगेटिभ आएमा संक्रमणमुक्त भएको मानिन्छ।
सो क्षेत्रीय अस्पतालमा पाँच जनाको उपचार भैरहेको छ।
‘सर्लाहीबाट केही दिनअघि एक संक्रमित किशोरलाई उपचारका लागि ल्याइएको छ,’ उपाध्यायले भने, ‘उनको अवस्था सामान्य छ।’
उपाध्यायले संक्रमणमुक्त रौतहटका नेपाली युवालाई उनको रौतहटस्थित घरमै पठाउने तयारी भएपनि भारतीयको हकमा के गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्ने बताए।
संक्रमणमुक्त भएका भारतीय नागरिकहरु वीरगञ्जको मस्जिदमा बस्दै आएका भारतीय हुन। नेपालमा अहिलेसम्म भेटिएका कुल ४९ संक्रमितमध्ये १२ जना निको भई घर फर्किसकेका छन्।
वीरगञ्जका यी ४ जनासहित अब नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १६ पुगेको छ।
Shares
प्रतिक्रिया