ट्रम्पले कोरोनाको उपचारका निम्ति सङ्क्रमणनाशक वस्तु ‘डिसइन्फेक्ट्यान्ट’लाई बिरामीको शरीरमा सुईमार्फत् लगाउने सुझाव दिएपछि उनी आलोचित बनेका हुन्।
यस्तै ट्रम्पले परावैजनी किरणले बिरामीको शरीरलाई सङ्क्रमणमुक्त बनाउन सकिने समेत ह्वाइट हाउसमा बताएका थिए।
‘परावैजनी वा अन्य कुनै शक्तिशाली प्रकाशबाट मानौँ हाम्रो शरीरमा प्रहार गरियो भने मलाई लाग्छ त्यसले सङक्रमणलाई एक मिनेटमा नै परास्त गरिदिन्छ।’ ट्रम्पले बिहीबार भनेका थिए,‘हामीले देखेका छौँ कसरी सङ्क्रमणनाशक पदार्थले एक मिनेटमै ठीक गर्छ। के हामी भाइरस भगाउन सङ्क्रमणनाशक पदार्थको सुई शरीरमा हाल्न सक्दैनौँ त?’
ट्रम्पले भनेका थिए,‘म डाक्टर त होइन। तर मेरो राम्रो दिमाग त छ नि।’
ट्रम्पको यस भनाइ आएसँगै उनले दिएका उपाय घातक हुनसक्ने डाक्टर तथा वैज्ञानिकले चेतावनी दिएका छन्।
श्वासप्रश्वास सम्बन्धी चिकित्सक भिन गुप्ताले एनबीसी न्यूजलाई भने,‘यस्ता बस्तुको सुई हाल्ने वा सफाइसँग जोडिएका उत्पादन खाने अवधारणा गैरजिम्मेवार र घातक हो।’
यस्तै चार्ल्स्टन वेस्ट भर्जिनियाका डाक्टर कासिफ महमुदले भनेका छन्,‘एक जना चिकित्सकका रूपमा म तपाईँलाई सङ्क्रमणनाशक वस्तुहरूको फोक्सोसँग सम्पर्क गराउन वा परावैजनी किरण शरीरमा पठाएर कोभिड–१९ को उपचार खोज्न सुझाव दिन सक्दिनँ।’
ट्रम्पले यसअघि औलोको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वीनबाट कोरोनाभाइरसको उपचार हुनसक्ने बताएका थिए। त्यसबेला समेत चिकित्सकहरुले उनको आलोचना गरेका थिए।
हाल विश्वभर कोरोना भाइरसको औषधि र खोप परीक्षणकालमै छन्। बीबीसी
प्रतिक्रिया