महाकाली अस्पतालको भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री खरिदमा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।
स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको हुने सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो। बिहिवार महाकाली अस्पतालमा अख्तियारले छापा हानेको छ। अख्तियारले अस्पतालबाट कागजात नियन्त्रणमा लिएको छ। भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको हुनसक्ने भन्दै अस्पताल प्रशासनबाट कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले बताए।
उनका अनुसार भेन्टिलेटर खरिद प्रक्रियाका सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिइएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि छुट्याएको बजेटबाट अस्पतालको आइसियू सञ्चालनका लागि भेन्टिलेटर, बल्ड ग्यास एनालाइजर, डिफिब्रिलेटर तथा मोनिटर किनेका थियो। महाकाली अस्पतालले चैत्र १६ गते सूचना जारी गर्दै भेन्टिलेटर सहित पाँच उपकरण आपुर्तिका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको थियो।
चैत्र २७ गते आरजी सप्लायर्स प्रालिले ५३ लाख रुपैयाँमा एक थान भेन्टिलेटर, मनिटर लगायतका उपकरण आपुर्तिका लागि ठेक्का पाएको थियो। सोही कम्पनीले चैत्र अन्तिम साता अस्पतालमा भेन्टिलेटर पु-याएको थियो। भेन्टिलेटर अस्पतालमा जडान गर्ने क्रममा पुरानो तथा प्रयोग गरिएको भेटिएको थियो। बिहिवार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत नेतृत्वको प्रावधिक टोलीले भेन्टिलेटर पुराना तथा खिया लागेको लगायत ‘खोटै–खोट’ औल्याएको छ।
यो पनिः
महाकाली अस्पतालः भेन्टिलेटरमा ‘खोटै-खोट’
महाकाली अस्पताल : ‘खरिद सम्झौताविना पुरानो भेन्टिलेटर ल्याइयो’
नयाँका लागि टेन्डर खुलाइएको महाकाली अस्पतालमा पुरानो भेन्टिलेटर !
प्रतिक्रिया