धादिङमा लकडाउनलाई कडा बनाउनका लागि लगाएको बार नाघ्ने क्रममा बुढीगण्डकीमा खसेर एक युवाको मृत्यु भएको छ।
बुधबार राति धादिङको ज्वालामुखी गाउँपालिकाअन्तर्गत धादिङ–गोराखा जोड्ने बुढीगण्डकीको पुलबाट खस्दा सोही गाउँपालिकाको वडा नम्बर ५ का ३८ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार लकडाउनका क्रममा आवतजावत रोक्नका लागि पुलमा लगाएको बार नाघ्ने क्रममा ती युवा नदी किनारका ढुंगामाथि खसेका थिए।
उनको घटनास्थलमै मृत्यु भएको र उनको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको एसपी रेग्मीले जानकारी दिए।
पुलबाट आवतजावत बढेपछि लकडाउनलाई कडाइ गर्न जनप्रतिनिधिहरुकै अगुवाईमा सो बार लाइएको थियो।
प्रतिक्रिया