त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकमाथि भएको कुटपिट प्रकरणपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोख्रेलकाअनुसार आवश्यक छानविन तथा कारबाहीका लागि महाराजगञ्जका डीएसपी उमेश लम्साललाई रानीपोखरी तानिएको हो।
महाराजगञ्ज वृत्तका इन्चार्जसमेत रहेका डीएसपी लम्साललाई रानीपोखरी तानिए पनि तत्काल अर्को इन्चार्ज पठाउने निर्णय नभएको डीआईजी पोख्रेलले नेपालखबरलाई बताए। डीआईजी पोखरेलका अनुसार कुटपिटमा संलग्न प्रहरी जवान राजु राई पनि राखिपोखरी तानिएका छन्।
यस्तै प्रहरीले घटनाको छानविन गर्न प्रहरीले समिति गठन गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्रचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो।
समितिमा अपराध महाशाखाका एसपी मुकेस सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी छन्। समितिले दुवैपक्षसँग सोधपुछ सुरु गरिसकेको एसएसपी बज्रचार्यले बताइन्।
प्रतिक्रिया