त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकमाथि भएको कुटपिटको छानविन गर्न प्रहरीले समिति गठन गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्रचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो।
समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटी छन्। समितिले दुवै पक्षसँग सोधपुछ सुरु गरिसकेको एसएसपी बज्रचार्यले बताइन्।
‘हामीले पीडित पक्ष र प्रहरी दुवैपक्षसँग सोधपुछ सुरु गरिसकेका छौं, के भएको हो सत्य पत्ता लगाएर के कारबाही गर्नु पर्ने हो हामी सिफारिस गर्छौं’, एसएसपी बज्रचार्यले नेपालखबसरँग भनिन्।
बुधबार ड्यूटी सकेर निवासतर्फ फर्किँदै गर्दा कान्ति बाल अस्पतालको पछाडि प्रहरीले दुव्र्यवहार तथा हातपात गरेको शिक्षण अस्पतालका तीन जना आवासीय चिकित्सकले बताएका छन्।
नेपाल चिकित्सक संघले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ।
प्रतिक्रिया