दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बागलुङमा शनिबार मात्रै ३ सय ९७ जनामा द्रूत परीक्षण (र्यापिड टेस्ट) गरिएको छ।
जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा द्रूत परीक्षण गरेको हो।
विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड गाउँपालिकाका १ सय १४ जना, निसीखोला गाउँपालिका १ सय १५ र ढोरपाटन नगरपालिकाका ७७ जनाका द्रूत परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।
जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय ३८ जनाको र्यापिड डाइगोनोस्टिक टेस्ट गरिनेछ।
बागलुङमा बिहिबारदेखि दूत परीक्षण सुरु गरिएको थियो। हालसम्म ५ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
पहिलो दिन १२, दोस्रो दिन ९४ र तेस्रो दिन ३९७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १ सय ९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १ सय ३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १ सय ६१, गलकोट नगरपालिकामा १ सय २८ र ताराखोला गाउँपालिकामा ३३ जना छन्।
स्वास्थ्य मन्त्रालयले द्रूत परीक्षणका लागि प्रयोग जिल्लामा १ हजार थान आरबीटी किट पठाएको छ। बागलुङमा भेटिएका बानपा ४ का १९ वर्षीया युवती र बानपा ३ का ६५ वर्षीय महिलाको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।
आइतबार नगरपालिकामा द्रूत परीक्षण सञ्चालन भइरहेको बताइएको छ।
प्रतिक्रिया